त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन्।
रत्नले नवलपरासीका रोशन कुमाललाई २१।१४, २१।१२ ले तथा प्रिन्सले सेनाका पविन लिनथेपलाई २१।५, २१।९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
रत्न र प्रिन्सले भोलि हुने प्रिक्वाटरमा जित निकालेमा क्वाटरफाईनलमा एक अर्काको सामना गर्ने भएका छन्।
रत्नमाथि लगातार दुई प्रतियोगितामा जित निकालेर उपाधि चुमेका प्रिन्स यस प्रतियोगितामा पनि उक्त विजयलाई निरन्तरता प्रदान गर्ने जोसका साथ कोर्टमा उत्रेका छन्। प्रतियोगिताका लागि तयारी गर्ने क्रममा प्रशिक्षण दौरान खुट्टामा हल्का चोट बोकेका रत्नजित केहि असहज महशुस गरि रहेका छन्।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल घर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा स्थान बनाउनेमा एपिएफका दिपेश धामी, भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ रहेका छन्।
दिपेशले कैलालीका देवराज रानालाई २१।१६, २१।८ ले, बिकासले सेनाका आयुष्मान नागरीलाई २१।१३, २१।९ले र नविनले एनआरएनए दुवईका साहिल चन्दलाई २१।११, २१।१० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
प्रतियोगिताको दोश्रो दिन भएको महिला एकलको प्रतिस्पर्धामा एपिएफकी जेशिका गुरुङ्ग नेपाल नम्बर एक भोजपुरकी नङ्गसल देवी तामाङलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकी छिन्। जेशिकाले नङ्गशलमाथि २१।१४, २१।१३ को समान अन्तरले पराजित गरिन्।
१० औं पुष्पलाल स्मृती र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पनि जेशिकाले नङ्गशललाई पराजित गरेकी थिइन्। यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा एपिएफकी प्रयाक्षी राईले चन्द्रागिरीका मनिषा खड्कालाई २२।२०, २१।१५ले हराइन्।
सेनाकी अनुमाया राईले एपिएफकी शोभा गौचनलाई २१।१३, २१।११ले, कैलालीकी प्राथना देउवाले कैलालीकी प्रियानसी बमलाई २१।५, २१।६ पराजित गरिन्।
सुनसरी ब्याडमिन्टन एकेडेमीका शिमा राजबंशीले वुटवल ब्याडमिन्टन क्लबकी पुजा बिष्टलाई २१।१०, २१।७ मा पछि पार्दा सेनाकी रशिला महर्जनले सूर्यदर्शनकी रिया डङ्गोलबाट वाकओभर, एपिएफकी सुनयना मुखियाले बाँकेकी समिक्षा न्यौपानेलाई २१।६ को समान अन्तरमा र सेनाकी अमिता गिरीले एनआरएनकी सानिया चन्दलाई २१।१६, २१।१२ ले पराजित गरे।