राष्ट्रिय खेलकुद परिषद्ले आगामी मंगलबार 'खेलकुदसँग प्रधानमन्त्री' कार्यक्रम गर्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली खेलाडी र प्रशिक्षकमाझ उपस्थित भएर खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने खेलकुद परिषद्ले जनाएको छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अपरान्ह १ बजे हुने कार्यक्रममा नेपाली खेलकुदको विकास–विस्तार र समसमायिक बिषयमा प्रधानमन्त्रीबाट सम्बोधन हुनेछ।
'खेलकुदसँग प्रधानमन्त्री' कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक, संघ–संस्था लगायत खेलकर्मीको उपस्थिति हुनेछ।
त्यसअघि युवा तथा खेलकुद मन्त्री दावा तामाङ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने छन्।
खेलकुद परिषद्का अनुसार खेलकुद अभिमुखिकरण अन्तरक्रिया कार्यक्रम सात प्रदेशनमा भइरहेको छ।
जसअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको छ।
ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र सम्बन्धित जिल्लाका कार्यालय प्रमुखको सहभागिता रहने गरि तेश्रो चरणको बागमती प्रदेश स्तरिय खेलकुद अभिमुखिकरण अन्तरक्रिया कार्यक्रम माघ २१ र २२ गते भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा संचालन हुँदैछ।
अन्तरक्रिया कार्यक्रममा सम्बन्धित बिषयका बिज्ञद्धारा खेल व्यवस्थापन, प्रशासनिक सहजीकरण र संयोजन, तालिम तथा प्रशिक्षण विभाग सहजीकरण र संयोजन, प्रशिक्षक प्रशिक्षण, स्पोर्ट्स मेडिसिन र डोपिङ, मोटिभेसन, खेल समाजशास्त्र तथा लैंगिक हिंसा र खेल मनोविज्ञानलगायत अन्य विषयमा प्रशिक्षण दिइनेछ।