आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण आगामी चैत १७ देखि सुरू हुने भएको छ।
पोखराको प्रतिष्ठित सहारा क्लबको आयोजनामा वर्षेनि हुँदै आएको यस प्रतियोगितामा नेपालमा रहेका ए डिभिजन फुटबल क्लब, मोफसलका क्लब, विदेशी टिम र आयोजक सहारा क्लबका खेलाडीहरू प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।
गत वर्षको आहा रारा गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको थियो भने उपविजेता नेपाल पुलिस क्लब बनेको थियो।
२०५५ सालमा स्थापित सहारा क्लबले सुरुवातमा क्याराभान कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। त्यसपश्चात आहा रारा गोल्डकपको नाममा निरन्तर २० वर्षदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष थापाले बताए।
पोखरेली दर्शकको उल्लेख्य साथ पाएको आहा रारा गोल्डकपमा यस वर्ष भने सीमित संख्याका दर्शकले मात्र प्रतियोगिता हेर्न पाउनेछन्। कोरोना भाइरसको महामारीका कारण यस वर्षको प्रतियोगितामा भने पोखरा रंगशालाको कूल दर्शक क्षमताको आधा मात्र दर्शकलाई प्रवेश दिइने अध्यक्ष थापाले बताए।
यस वर्षको प्रतियोगिता सञ्चालन गर्न एक करोड एक लाख ८१ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ। जसमा प्रतियोगिता सञ्चालन गर्दा एक करोड ३० लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ। प्रतियोगिता सञ्चालनबाट जोगिएको रकम आयोजक सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको फुटबल एकेडेमीमा खर्च गर्ने क्लबले जनाएको छ।