नेपालका विपेश खड्काले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा शुक्रबार ५५६ अंक जोडेका छन्।
एसियाली सुटिङ महासंघको तत्वावधान तथा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा बद्रुउद्दिन अन्सारीले ५४५ तथा सुखदेव चौधरीले ५४२ अंक जोडे।
सातदोबाटोस्थित सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको महिला १० मिटर एयर पेस्तोलमा कृष्णा थापाले ५५५ तथा सरिता बस्नेतले ५३७ अंक जोडे। प्रतियोगिताअन्तर्गत शनिबार १० मिटर एयर राइफलतर्फ प्रतिस्पर्धा हुने छ।
खेलाडीले प्राप्त गरेको अंकलाई कुवेतमा पठाइने र त्यहाँबाट आइतबार सहभागी सबै राष्ट्रका खेलाडीको नतिजा प्रकाशित गरिने नेपाल सुटिङ संघले जनाएको छ।
दुईदिने प्रतियोगितामा २२ राष्ट्र सहभागी छन्। नेपालबाट ६ पुरुष र ५ महिला गरी ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।