नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआइपिए स्पोर्ट्स अवार्ड फागुन ८ गते हुने भएको छ।
एनएनआइपिएले मंगलबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी नगरपालिकामा अवार्ड कार्यक्रम आयोजना गर्ने जनाएको हो। एनएनआईपिएका अध्यक्ष दिपक श्रेष्ठले अवार्डका लागि मध्यपुर ठिमी नगरपालिकामा हुन लागेको बताए।
संघले यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको बताएको छ। यस विधालाई स्काइ ब्रान्डले प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
जनही ५० हजार रुपैयाँ पुरस्कार राशीको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने बताईएको छ। गत वर्ष खेलाडीले गरेको प्रर्दशनका आधारमा सम्बन्धित संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ।
यसअघि संघले भक्तपुर, टोखा, पाटन, बसन्तपुरमा स्थानीय निकायको सहयोगमा अवार्डको आयोजना गरिसकेको छ।
सम्मानित खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन भने सर्बेत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही १ लाख रुपैयाँ सहित संघले सम्मान गर्दै आएको छ। अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका
खेलाडीलाई समावेश गरिएको आयोजक खेलाडी संघले जनाएको छ।
संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट समितिले चयन गर्ने आयोजक संस्थाले जनाएको छ।
एनएनआईपिएले अवार्ड कार्यक्रममा एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेल पत्रकार वा फोटो पत्रकारलाई एनएनआइपीए खेल पत्रकारिताबाट पुरस्कार प्रदान गर्दै आएको छ।