सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाल एपिएफकी जेशिका गुरुङले योनेक्स सनराइज १०औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचालेका छन्।
प्रिन्सले पुरुष एकलको फाइनलमा एपिएफका दिपेश धामीमाथि २१-१८ र २१-१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनको च्याम्पियन बनेका हुन्।उनले सेमिफाइनलमा शीर्ष वरीयताका रत्नजितलाई पराजित गरेका थिए।
गोलबजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्गले उपाधि उचालिन्। उनले १८-२१, २१-१५ र २२-२० का साथ उपाधि जितिन्।
जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधि हो। यस अघि ईटहरीमा भएको सातौं पुष्पलाल स्मृतीमा पनि जेशिकाले उपाधि उचालेकी थिइन्।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शीर्ष १६ वरीयता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले बाजी मारे। उनले सेनाका दिवश शंकरलाई १५-२१, २१-१८ र २१-१६ ले पराजित गर्दै उपाधि जिते।
यस्तै शीर्ष १२ वरीयता बाहेकको महिला एकलमा कैलालीकी प्राथना देउवाले बाजी मारिन्। देउवाले झापाकी अञ्जना राईलाई २१।९, २१।१३ ले पराजित गरिन्।
पुरुष युगलतर्फको प्रतिस्पर्धाम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्जजित तामाङ र नविन श्रेष्ठको जोडीले उपाधि उचाल्यो। सेनाका जोडीले सेनाकै सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथी २१।१९, १९।२१, २१।१३ को जित निकाल्दै उपाधि उचालेको हो।
महिला युगलतर्फ पनि सेनाले उपाधी उचाल्यो। सेनाका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१।१८, २१।१२ ले पराजित गरेको हो।
ब्वाइज एकलतर्फ त्रिभुवन आर्मीका भोजबहादुर गुरुङ च्याम्पियन बने। भोजले सेनाकै आयुष्मान नागरीलाई २१।१५, १९।२१, २१।१० ले पराजित गरे। यस्तै गल्र्स एकलमा पनि राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डे माथी २१।१० को समान अन्तरले पराजित गर्दै उपाधि रक्षा गरिन्।
भेट्रान्स युगलतर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिलकुमार लाखेले विजयी भए। श्रेष्ठ र लाखेको जोडीले कास्की पोखराका शोभाकर भन्डारी र नविन पराजुलीको जोडीलाई २१।१२, २१।१९ ले पराजित गरेका हुन्। लाखेले करिव १२ बर्ष पछि कोर्टमा उत्रदै उपाधि उचालेका हुन्।