भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते हुने भएको छ।
यो संस्करणबाट महिला हाफ म्याराथन समेत हुने आयोजनकले जनाउको छ। मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा विश्वमा परिचय गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड–१९ यो कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए।
कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिला र पुरुष, ५ किलोमिटर छात्र र छात्रा तथा दृष्टि विहिनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौडभने फरक–फरका मितिमा आयोजना हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए।
पोखरा म्याराथन अन्तर्गत हुने दृष्टि विहिनहरुको दौड तथा अपाङ्गहरुको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिला र पुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र–छात्रा दौड वैशाख ४ गते आयोजना हुने मञ्चले जनाएको छ।
म्याराथनतर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश नगद रु २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन्। त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद रु १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्नेछन्।
पोखरा म्याराथन पोखरा रंगशालाबाट शुरु भएर पोखरा महानगरका १७ वटा वडाहरुका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर समापन हुने मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले जानकारी दिए।
कोभिडका कारण यो वर्ष भने पोखरा म्याराथनको लोकप्रिय रहेको ‘रन फर फन’ नहुने भएको तर सबै पोखरेलीहरुलाई आफ्नो परम्परागत भेषभुषा तथा बाजागाजा सहित खेलाडीलाई घर आङ्गन र चोकहरुमा उभिएर स्वागत गर्न उनले आग्रह गरेका छन्।