कोरोनाभाइरसको फैलिदै गएपछि जापानको राजधानी टोकियोमा संकटकाल घोषणा गरिएको छ। जसका कारण ६ महिनापछि हुने तय भएको टोकियो ओलम्पिक अनिश्चित बनेको छ।
जापान सरकारले बिहीबार एक महिना लामो संकटकाल घोषणा गरेको थियो। जापानका प्रधानमन्त्री योशिहिडा सुगाले संकटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि संकटकाल लगाउनु परेको बताएका छन्।
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) मा लामो समय बिताएका सदस्य डिक पाउन्डले टोकियोमा संकटकाल घोषणा गरिएसँगै ओलम्पिक अनिश्चित बनेको बताएका छन्।
कोरोनाका कारण गत वर्षका लागि तय भएको ओलम्पिक स्थगित गर्दै नयाँ मिति घोषणा गरिएको थियो।
आइओसीले आगामी २३ जुलाई देखि ८ अगस्टसम्म ओलम्पिक आयोजना हुने जनाएको थियो।
कोरोना कारण तयारीमा असर गरेकाले तोकिएको मितिमा ओलम्पिक हुनेमा शंका लागेको पाउन्डको भनाइ छ।
तर आयोजक जापानले तोकिएकै मितिमा ओलम्पिक गर्ने दाबी गर्दै आएको छ।
संकटकाल लगाउँदा ओलम्पिकका लागि योजना बनाउन सहज हुने आयोजकको भनाइ छ। आयोजकले ओलम्पिक सुरक्षितरुपमा गर्न आफूहरु तयार रहेको बताएका छन्।
टोकियो क्षेत्रमा घोषणा गरिएको संकटकाल शुक्रबारदेखि लागु हुनेछ। रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ।
यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन्।
जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४४८ जना थपिएका थिए। देशभरी सात हजार ४९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन्।
जापानमा अहिलेसम्म तीन हजार ७०० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ।