सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता जनवरी ८ तारिखदेखि सुरु हुँदैछ।
प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २ सय खेलाडीको सहभागिता रहने छ । त्यसमा १ सय २० पुरुष र ८० महिला खेलाडी रहेको आयोजक डोजाङका प्रमुख नोर्बु मोक्तानले जनाएका छन् ।
पुरुष-हिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ। पुरुष÷महिला दुवैमा १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष, १८–३० वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेलाडीले आ–आफ्नो कौशल प्रदर्शन गर्ने छन्।
प्रतियोगिताको सम्पूर्ण खर्च सैलुङ गाउँपालिकाले व्यहोर्ने डोजाङ प्रमुख मोक्तानले जानकारी दिए । सहभागीले बढीमा १ मिनेट ३० सेकेन्डको भिडियो आयोजकलाई पठाउनु पर्ने प्रावधान छ । आज जनवरी ६ बुधबार भिडियो पठाउनु पर्ने अन्तिम दिन हो ।
‘मोस्ट पपुलर खेलाडी’ लाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । यो विधा चयनका लागि सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिने छ । सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उक्त विधाबाट पुरस्कृत गरिने छ ।
पाँच अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामा, अशोक खड्का, हीराबहादुर थापा, मिन न्यौपाने र विक्रम खड्गीले दुई दिने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।