एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ विधाको मनोनयन शुक्रबार सार्वजनिक गरिएको छ
अवार्डको १७औं संस्करण यही पुस २८ गते ललितपुर सातदोबाटोस्थित कराते हलमा हुँदैछ। कोरोना महामारीका कारण यसपटकको अवार्ड सेमिभर्चुअल हुनेछ ।
यसपालि पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्। गत वर्ष उनीहरूले पाएको सफलता र चर्चाका आधारमा पाँच खेलाडी मनोनयनको हकदार भएको आयोजकले जनाएको छ।
मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट ई–सेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा हुनेछ।
भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने छ। भोटिङलाइन आजैबाट सुरु भई पुस २७ गते राति १२:०० बजेसम्म खुला रहनेछ।
ई–सेवा भोटिङको मतभार ५० प्रतिशत रहनेछ। फेसबुक पेजको २५ प्रतिशत र पत्रकार, मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ । फेसबुकमा भोटका लागि एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाइक गर्न सकिनेछ।
पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा विभिन्न १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्न गरिनेछ। वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गर्नेछौं।
लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमको दिन पुस २८ गते नै गरिनेछ।
विगतमा जस्तै उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।