नेपालमा गत वर्ष आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी कराते खेलाडी अनुपमा मगरले विवाह गर्ने भएकी छिन्।
३० वर्षीया मगर र ५१ वर्षीय प्रशिक्षक ध्रुवविक्रम मल्लबीच विवाह हुन लागेको हो।
बालाजु कराते डोजाङका प्रशिक्षक मल्ल अनुपमाका प्रशिक्षक हुन्।
विवाहको पुष्टि गर्दै मल्लले सेतोपाटीसँग भने, 'हामीले बुधबार सामान्य तरिकाले विवाह गर्दैछौं। अहिलेलाई यति भनौं।'
अनुपमाले मल्लकै प्रशिक्षणमा साग खेलेकी थिइन्।
अनुपमाले गत वर्षको सागमा कराते फाइटको ६८ केजी माथि तौल समूहमा स्वर्ण जितेकी थिइन्। उनले फाइनलमा पाकिस्तानकी नार्गिसलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन्।
अनुपमाले १८ वर्षबाट कराते खेल्न सुरू गरेकी थिइन्।
शरीरको तौल घटाउन उनले करातेमा भर्ना भएकी थिइन्।
अनुपमा कुनैबेला माओवादीकी कार्यकर्ता भएर भूमिगत बनेकी थिइन्। त्यहाँ पनि उनी कराते खेल्थिन्, सिकाउँथिन्। त्यहीँ सिलसिलामा उनी नवलपरासी पुगिन्।
नवलपरासीमै हुँदा उनले आमा बितेको खबर पाइन्। त्यसपछि त्यहाँ उनको मन अडिएन। उनी घर फर्किइन्। घर थियो तर आमा थिइनन्। आमा नभएको घर के घर! उनको मन थामिएन।
उनका दाइ काठमाडौंमा काम गर्थे। सानो भाइ र दुई बहिनी गाउँमै थिए।
केही दिनपछि भाइबहिनी च्यापेर अनुपमा काठमाडौं आइन्। दाइसँग दु:ख गरेर भाइबहिनीलाई यतै पढाइन्।
काठमाडौं आएपछि उनले बालाजु डोजोमा फेरि कराते सुरू गरेकी थिइन्। त्यहिँ उनको भेट प्रशिक्षक मल्ल भएको थियो।