नेपाल रग्बी सङ्घलाई विश्व रग्बी महासङ्घले सदस्यता प्रदान गरेको छ।
विश्व रग्बी महासङ्घको बुधबार सम्पन्न बैठकले नेपाललाई एसोसिएट सदस्यता दिने निर्णय गरेको नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए।
नेपालमा सन् २०१२ मा रग्बी सङ्घ स्थापना भएको हो।
सङ्घ स्थापनाको ६ वर्षपछि नेपाललाई सन् २०१८ मा एशिया रग्बी महासङ्घले पूरक सदस्यता प्रदान गरेको थियो।
नेपाल रग्बी सङ्घका अध्यक्ष घिसिङले विश्व रग्बी महासङ्घको सदस्यता पाउनु नेपालले रग्बी खेलको विकासका लागि गरेको मेहनतको फल भएको बताए।
अध्यक्ष घिसिङले विश्व रग्बी महासङ्घले सुम्पेको जिम्मेवारी निर्वाह गर्न नेपाल तयार रहेको बताए।
एशिया रग्बी महासङ्घको सिफारिसमा नेपाललाई एसोसिएट राष्ट्रको मान्यता प्रदान गरिएको हो।
गत भदौमा एशिया रग्बी महासङ्घले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बी महासङ्घलाई पत्राचार गरेको थियो।