धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्म दौडने भएका छन्।
उनले पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्की टोलबाट दौड यात्रा प्रारम्भ गर्ने जानकारी दिए। कार्की पनि गोदामचौर निवासी हुन्। उनले त्यहाँ आफैले बनाएको हनुमान मन्दिरबाट दौड सुरु गर्ने छन्।
कार्कीले गोदामचौरदेखि जनकपुरसम्म दोश्रोपटक दौड्न लागेका हुन्। करिब २ सय २५ किलोमिटर दूरी ३ दिनमा तय गर्ने कार्कीले जानकारी दिए।
‘मदिरा मुक्त समाज’ नारा दिइएको दौड जनकपुरको रामजानकी मन्दिर पुगेपछि टुंगिने छ। कार्कीको दौडलाई नेपाल शाहाकारी पार्टी र फुड बैंकले सहयोग गर्ने भएको छ।
कार्की २०६४ सालमा १ सय १ दिन लगाएर दौडेर ७५ जिल्ला पुगेका थिए। त्यस्तै उनले काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–सिन्धुली ३ पटक, काठमाडौं–दोलखा ३ पटक र विश्व पर्यटन दिवसका अवसरमा काठमाडौं–पोखरा १ पटक दौडिसकेका छन्।
४९ वर्षीय कार्कीले काठमाडौं–उत्तर प्रदेश– बिहार तथा काठमाडौं–भारतको पश्चिम बंगाल–भुटान दौडेर ओहोर–दोहोर गरेका छन्।
दौडबाट संकलित रकम धार्मिक र सामाजिक कार्यमा पनि सहयोग गर्ने बताए।
‘विगतमा पनि दौडहरुबाट संकलित केहि प्रतिशत रकम धार्मिक र सामाजिक कार्यमा सहयोग गरेको थिए। यसपटक पनि सहयोगलाई निरन्तरता दिनेछु,’ कार्कीले भने।
उनको दौडलाई पूर्वधावक ओलम्पियन कृष्णबहादुर बस्नेत नेतृत्वको टोलीले निगरानी गर्ने छ।