युएस वर्ल्ड क्लास तेक्वान्दो एसोसिएसनको आयोजनामा हुने २०२० वर्ल्ड भर्चुअल तेक्वान्दो महोत्सवमा सहभागी हुने ९ नेपाली खेलाडीको दर्ता शूल्क रिक्की सिनले प्रायोजन गरिदिने भएका छन्।
पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव सिनले एक खेलाडीको १ सय अमेरिकन डलरका दरले ९ सय डलर दर्ता शूल्क प्रायोजन गरिदिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्काले जनाएका छन्।
प्रतियोगितामा भिजन तामाङ, प्रगति कुइकेल, मेलिना राई, आयुश बोहरा, विवेक श्रेष्ठ, प्रसन्न पुडासैनी, अस्मिता नगरकोटी, महेश आङथुप्पा र आयुश ढुंगेलले जुनियरतर्फ नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रतियोगिता अक्टोबर १७ र १८ तारिखमा हुँदैछ। सिनियरको स्पर्धा अक्टोबर १२ र १३ तरिखमा सम्पन्न भइसकेको छ।
प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गर्दैछन्। सिनियरको प्रतियोगितामा पनि खड्काले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। खड्का पुम्से, ग्योरोगी र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन्।