स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेञ्च ओपन २०२० को उपाधि जितेका छन्।
आइतबार राति भएको उपाधि भिडन्तमा सर्वियाका नोभाक जोकोविचलाई पराजित गरेर नाडाल १३औं पटक फ्रेञ्च ओपन च्याम्पियन बनेका हुन्।
शनिबार उत्कृष्ट लयमा देखिएका दोस्रो वरीयताका नाडालले शीर्ष वरीयताका जोकोविचलाई ३-० को सोझो सेटमा सहजरूपले पराजित गरे।
नाडालले ६-०, ६-२ र ७-५ को जित निकालेका हुन्।
उपाधिसँगै ३४ वर्षीय नाडालले रोजर फेडेररको नाममा रहेको २० औं ग्रान्डस्लाम उपाधिको रेकर्ड बराबरी गरेका छन्।
नाडालले जितेका २० ग्रान्डस्लाम उपाधि मध्ये १३ वटा फ्रेञ्च ओपनका छन्।
यता नाडाल र फेडेररलाई भेट्टाउने अभियानमा रहेका जोकोविचले २०२० मा प्रतिस्पर्धा गरेर हारेको यो पहिलो खेल हो।
जोकोविचले अहिलेसम्म १७ ग्रान्डस्लामको उपाधि जितेका छन्।
नाडालले पछिल्ला चार वर्ष लगातार फ्रेञ्च ओपनको उपाधि उचाले। उनले २०१७, २०१८, २०१९ र २०२० मा गरी लगातार फ्रेञ्च ओपनको उपाधि जिते।
सन् २००५ मा पहिलो उपाधि जितेपछि उनले २००६, २००७ र २००८ मा पनि लगातार चार उपाधि जितेका थिए।
त्यसपछि उनले २०१० देखि २०१४ लगातार पाँच पटक उपाधि जितेका थिए।
नाडालले युएस ओपन चार पटक जितेका छन्। उनी २०१०, २०१३, २०१७ र २०१९ मा युएस ओपन विजेता बनेका थिए।
नाडालले अस्ट्रेलियन ओपन एक पटक मात्र जितेका छन्। उनी सन् २००९ मा अस्ट्रेलियन ओपन च्याम्पियन बनेका थिए।
यस्तै विम्बल्डन दुई पटक जित्ने क्रममा उनी २००८ र २०१० मा विजेता बने।