जमैकन धावक उसेन बोल्टले संन्यास लिएको तीन वर्ष भइसकेको छ। ट्र्याकबाट अलग भए पनि मानिसहरू बोल्टलाई पछ्याइरहेका हुन्छन्। किनभने बोल्टको गतिमा कुद्ने अर्को धावक यो संसारमा अहिलेसम्म छैनन्।
बोल्टको नाममा सय र दुई सय मिटरको विश्व कीर्तिमान छ। उनले सन् २००९ को विश्व च्याम्पियनसिपमा सय मिटर दौड ९.५८ सेकेन्ड र दुई सय मिटर १९.१९ सेकेन्डमा पूरा गर्दै विश्व कीर्तिमान बनाएका थिए।
एक दशक विश्व 'स्प्रिन्ट'मा राज गरेका बोल्टले 'तीव्र गतिमा दौडन सजिलो हुन्छ' भन्ने सन्देश दिए। त्यो भन्दा बढी उनले दौडलाई रमाइलो बनाए।
बोल्ट विश्व एथ्लेटिक्सबाट बिदा भएसँगै अब उनको स्थान अमेरिकाकी धावक नोआ लाइल्सले लिने विश्लेषण गर्न थालिएको छ। कतिपयले उनलाई 'न्यू उसेन बोल्ट' को संज्ञा समेत दिएका छन्।
२३ वर्षीय लाइल्सले एक वर्षअघि दोहामा भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा २ सय मिटर दौडमा स्वर्ण जितेर आफूले विश्व एथ्लेटिक्समा कडा चुनौती पेश गर्ने सन्देश दिइसकेका छन्।
बोल्टको उमेरअनुसारको प्रदर्शनसँग तुलना गर्ने हो भने लाइल्सले भविष्यमा सय र दुई सय मिटरमा विश्व कीर्तिमान बनाउन सक्ने तथ्याङकले देखाएको छ।
सय मिटरमा ९.८६ सेकेन्ड र दुई सय मिटरमा १९.५० सेकेन्ड लाइल्स व्यक्तिगत उत्कृष्ट टाइमिङ हो।
बाल्यकालमा उनी जिम्न्यास्टिक खेलाडी थिए। अमेरिकाको फ्लोरिडामा जन्मिएका लाइल्स १२ वर्षको उमेरदेखि भने उनी दौडमा आर्षकित भएका थिए।
सन् २०१४ मा चीनको नान्जिङमा भएको युथ ओलम्पिकदेखि नै लाइल्सले अमेरिकी एथ्लेटिक्स टिममा प्रभाव जमाउन थालेका थिए। त्यति बेला उनले दुई सय मिटरमा स्वर्ण जितेका थिए। दुई वर्षपछि उनले विश्व यु-२० च्याम्पियनसिपमा सय र चार गुणा सय मिटर रिलेमा स्वर्ण जित्न सफल भए।
त्यति वर्ष उनी रियो ओलम्पिकमा छनोट हुन भने असफल भएका थिए। छनोटमा ०.०९ सेकेन्डले पर्दै चौथो भएछि उनको ओलम्पिक खेल्ने सपना पूरा हुन सकेन।
सन् २०१८ मा लाइल्सले दुई सय मिटर दौड १९.७ सेकेन्ड भन्दा कम समय चार पटक दौडिएका थिए। यस्तै २०१८ मा उनले सय मिटर दौड ९.८८ सेकेन्डमा पूरा गरेका थिए। जुन प्रदर्शन सन् २०१७ को वर्षको रेकर्ड भन्दा राम्रो टाइमिङ हो।
उमेर अनुसारको प्रदर्शनको तुलना गर्ने हो भने बोल्टभन्दा लाइल्स अघि देखिएका छन्। लाइल्सले २१ वर्षकै उमेरमा सय मिटरमा आफ्नो उत्कृष्ट टाइमिङ निकालेका थिए। जबकी बोल्टले २२ वर्ष उमेर पूरा गरेपछि राम्रो टाइमिङमा दौडन थालेका थिए। २२ वर्षको उमेरमा उत्कृष्ट टाइमिङ निकाल्ने क्रममा बोल्टले १९.७ सेकेन्डमा सय मिटर दौड पूरा गरेका थिए।
लगातार उत्कृष्ट प्रदर्शन गरेका लाइल्सले सन् २०२० को टोकियो ओलम्पिकमा आफ्नो जादू देखाउने आँकलन गरिएको थियो। तर कोरोना भाइरसका कारण ओलम्पिक एक वर्ष धकेलियो।
कोरोनाले ओलम्पिक सर्दा लाइल्स निराश बने। तर अहिले फेरि विश्व खेलकुद चलायमान हुँदा लाइल्स उत्साहित बनेका थिए।
'अहिले निकै उत्साहित छु, महामारीपछि रंगशाला भित्रको ट्र्याकमा दौडने अवसर पाएको छु,' २३ वर्षीय धावकले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अफिसियल च्यानलसँग कुरा गर्दै भनेका छन्,'मलाई कुद्ने आधिकारीक समय चाहिएको थियो। अब साँच्चै नै तीव्र गतिमा दौडने प्रयास गर्नेछु।'
गत वर्ष दुई सय मिटरको विश्व विजेता बनेपछि उनी कतारको ट्र्याकमा निकै उत्साहित देखिएका थिए। दर्शकलाई नाच्दै-गाँउदै मनोरञ्जन प्रदान गरेका थिए।
जसका कारण उनी चर्चित बन्दै ओलम्पिकका दाबेदार मानिए। तर तोकिएकै ओलम्पिक नहुँदा ड्रिप्रेसन हुने अवस्थामा पुगेको उनले ओलम्पिक च्यानलसँगको कुराकानीमा बताएका छन्।
तर अबको एक मात्र लक्ष्य विश्व रेकर्ड बनाउने उनको भनाइ छ।
हालै भएको डाइमन्ड लिगमा सय मिटर र दुई सय मिटटरमा सफल भएपछि उनले सन् २०२१ मा टोकिइमा हुने ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्य मात्र होइन कीर्तिमान बनाउने लक्ष्य राखेका छन्।
उनी यसअघि के भइएको थियो भन्ने सम्झानाहरुबाट मुक्त हुन चाहन्छन्। अमेरिका र विश्वलाई कसैको पथमा नभइ आफ्नै पौरखमा अघि बढेको देखाउन चाहन्छन्।
'म धेरै पटक विश्व कीर्तिमान तोड्ने योजनामा छु,' उनले भने, 'सय मिटरमा ९.५० सेकेन्ड हुन सक्छ। दुई सय मिटरका लागि १८ सेकेन्डमा दौडनका लागि प्रयास गर्छु।'
उनले अघि भनेका छन्,'मलाई लाग्छ यसपछि मलाई मानिसहरूले बोल्टसँग तुलना गर्न छाड्नेछन्।'