भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ।
मेयर रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँको चेक हस्तान्तरण गरेका हुन्।
भरतपुर महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित चार करोड रुपैयाँ मध्येबाट पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए।
उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताए। निर्माण प्रगतिका आधारमा बिनियोजितमध्येको रकम थप्दै लगिने बताए।
महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम अगाडि बढाइरहेको भन्दै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन्।
उनले रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायहरूले गर्ने आर्थिक सहयोगका लागि पनि आफूले आवश्यक समन्वय र सहजीकरण गरिरहेको बताइन्।
फाउण्डेसनका अध्यक्ष कट्टेलले रंगशाला निर्माण कार्यले थप गति लिने बताए। उनले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे। भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको सुरुआत र धान्याञ्चल महायज्ञमा गरी १२ करोड रुपैयाँ सहयोगको घोषणा गरेको थियो ।