निर्माणाधीन पोखरा रंगशालको काम ८६ प्रतिशत सम्पन्न भएको छ।
करिब १ अर्ब २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो।
निर्माण सम्पन्न भएपछि यो नेपालकै ठूलो रंगशाला हुनेछ। पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणका लागि आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताए।
भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पिई बिल्डिङको निर्माण कार्य रोकिएको उनले जानकारी दिए। रंगशालाको पश्चिमतर्फ भिआइपी सिटमध्येको छानो निर्माणको काम पनि रोकिएको छ।
चेन्जिङ्ग रुम, मिडिया सेन्टर लगायतको काम भने सकिएको छ। 'अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ। स्टेडियमको चारैतिरको पिच निर्माणधीन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन्,' ताम्राकारले भने।
मंसिर १५ देखि २४ गतेसम्म सम्पन्न भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेलहरु पोखरा रंगशालामा भएको थियो।