एथ्लेटिककी राष्ट्रिय कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट गर्नेलाई कडा सजाय गर्न नेपाल एथ्लेटिक्स संघले माग गरेको छ।
संघका अध्यक्ष राजीवविक्रम शाहले बुधबार विज्ञप्ति निकाल्दै लामगादेमाथि जातीय गालीगलौज गर्दै सोमबार राति झापामा निर्घात कुटपिट भएको खबरले दुःखी बनाएको बताउँदै घटनाको घोर भत्र्सना गरेका छन्।
'अहिलेको २१औं शताब्दीमा हुने यस्ता घटनामा संलग्न जो कोहीलाई कडा भन्दा कडा सजाय होस भन्ने माग पनि गर्दछु । कुटपिटबाट घाइते लामगादेसहित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,' विज्ञप्तिमा भनिएको छ। साथै चन्द्रकलाको स्वास्थ्यपचारका लागि संघको तर्फबाट २१ हजार रुपैयाँ सहयोग गरिने पनि अध्यक्ष शाहले जनाएका छन्।
सोमबार राति झापाको मेचीनगर नगरपालिका-१३ चारआलीमा जातीय गालीगलौज गरी एक दम्पत्तीले चन्द्रकलासहित उनका श्रीमान् सुमन खाती र स्थानिय राजन दर्जीमाथि कुटपिट गरेका थिए।
चन्द्रकलाले गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलुकद (साग) र २०७६ वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
उनले सागमा ज्याभ्लिन थ्रोमा आफ्नै कीर्तिमान भंग गरेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। नेपाल पुलिसकी खेलाडी चन्द्रकलाले आठौंमा सटपुट प्रतिस्पर्धाको कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन्।
चन्द्रकला अहिले सात महिनाको गर्भवती छिन्। कुटपिटका क्रममा उनीमाथि गम्भिर चोट लागेको उनका श्रीमान् सुमनले बताए।
चन्द्रकला नेपाल पुलिस एकेडेमीकी खेलाडी हुन्। कोरोनाभाइरसको कारण उनलाई महाराजगन्जबाट झापामा हाजिरी गर्ने गरी काजमा राखिएको छ।
चन्द्रकलामाथि कुटपिट गरेको अभियोग लागेका दम्पत्तिलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो। कुटपिट गर्ने सोही स्थानका दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णु श्रेष्ठ छन्।
उनीहरूविरूद्ध चन्द्रकलाका श्रीमान् सुमनले झापाको इलाका प्रहरी कार्यालय धुलाबारीमा मंगलबार जाहेरी दिएका थिए। त्यसलगत्तै प्रहरीले श्रेष्ठ दम्पत्तिलाई पक्राउ गरेको थियो।
कुटपिट गर्ने क्रममा सुमनमाथि पनि आक्रमण भएको थियो। घाइते भएकी चन्द्रकलालाई बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।