एथ्लेटिककी राष्ट्रिय कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट भएको छ।
सोमबार राति झापाको मेचीनगर नगरपालिका-१३ चारआलीमा जातीय गालीगलौज गरी एक दम्पत्तीले चन्द्रकलासहित उनका श्रीमान् सुमन खाती र स्थानिय राजन दर्जीमाथि कुटपिट गरेका हुन्।
चन्द्रकलाले गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलुकद (साग) र २०७६ वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
उनले सागमा ज्याभ्लिन थ्रोमा आफ्नै कीर्तिमान भंग गरेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। नेपाल पुलिसकी खेलाडी चन्द्रकलाले आठौंमा सटपुट प्रतिस्पर्धाको कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन्।
चन्द्रकला अहिले सात महिनाको गर्भवती छिन्। कुटपिटका क्रमा उनीमाथि गम्भिर चोट लागेको उनका श्रीमान् सुमनले बताए।
चन्द्रकला नेपाल पुलिस एकेडेमीकी खेलाडी हुन्। कोरोनाभाइरसको कारण उनलाई महाराजगन्जबाट झापामा हाजिरी गर्ने गरी काजमा राखिएको छ।
चन्द्रकलामाथि कुटपिट गरेको अभियोग लागेका दम्पत्तिलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
कुटपिट गर्ने सोही स्थानका दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णु श्रेष्ठ छन्। उनीहरूविरूद्ध चन्द्रकलाका श्रीमान् सुमनले झापाको इलाका प्रहरी कार्यालय धुलाबारीमा मंगलबार जाहेरी दिएका थिए।
त्यसलगत्तै प्रहरीले श्रेष्ठ दम्पत्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिए।
'जातीय भेदभाव तथा कुटपिट गरेको भन्दै मंगलबार चन्द्रकलाका श्रीमानले जाहेरी दिनु दिनुभएको थियो,' डिएसपी थापाले सेतोपाटीसँग भने,'उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।'
कुटपिट गर्ने क्रममा सुमनमाथि पनि आक्रमण भएको थियो। घाइते भएकी चन्द्रकलालाई बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको छ।
श्रेष्ठ दम्पत्तिले चन्द्रकला र सुमनमाथि कुटपिट गर्नुअघि स्थानिय राजन दर्जीमाथि कुटपिट गरिरहेका थिए।
त्यसैक्रममा उनी भागेर चन्द्रकलाको घरमा लुक्नका लागि पुगेका थिए।
'स्थानीय राजन दर्जीलाई श्रेष्ठ दम्पत्तिले जातिय गाली गलौज गरी कुटपिट गरेका थिए। भाग्ने क्रममा चन्द्रकलाको पसलमा लुक्न जादाँ चन्द्रकलाले श्रेष्ठ दम्पत्तिलाई सम्झाएका थिए,' डिएसपी थापाले भने।
चन्द्रकलाका श्रीमान् सुमनले आफूहरूमाथि जातीय आपेक्ष लगाउँदै पेटीले निर्धात कुटपिट गरेको सेतपाटीलाई बताए।
'हाम्रो झापामा रहेको घुम्ती पसल नजिको होटलमा एक जना भाइ क्यारमबोर्ड खेल्दै थिए। त्यतिकैमा ती भाइमाथि जातीय आधारमा कुटपिट गरियो। उनी भागेर हाम्रो पसलमा आएपछि चन्द्रकलाले सम्झाउन खोजेकी हुन्,' सुमनले भने,'त्यतिकैमा उनीहरू चन्द्रकला र ममाथि जाइ लागे।'