लकडाउनपछि खेलकुद गतिविधि ठप्प भएपछि सशस्त्र प्रहरी बलले एपिएफ क्लबमा आबद्ध विभिन्न खेलका खेलाडीलाई सीमा सुरक्षामा खटाएको थियो।
सशस्त्रले प्रदेश दुईको सीमामा ८६ जना खेलाडीलाई खटाएको थियो। एक महिनाका लागि भन्दै सीमा सुरक्षामा खटाइएका खेलाडीहरुलाई साढे दुई महिनापछि काठमाडौं फर्काउँदा झण्डै आधामा कोरोना भाइरसको संक्रमण भएको छ।
सशस्त्र स्रोतका अनुसार ३६ जना खेलाडी कोरोनाबाट संक्रमित भएका छन्।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी राजु अर्यालले शुक्रबार काठमाडौं र भक्तपुर गणका ३६ जनामा संक्रमण देखिएको पुष्टि गरेका थिए।
उनले संक्रमण भएका भनिएकाहरु अधिकांस खेलाडी भएको स्रोतले बताएको छ। यसअघि बुधबार पनि सशस्त्रका दुई जना खेलाडीमा कोरोना देखिएको थियो।
भक्तपुरस्थित दुवाकोट गणका २० जना र काठमाडौंको निलबाराही गणका १६ जनामा संक्रमण देखिएको हो। अहिले उनीहरूलाई आइसोलेसनमा राखिएको छ।
नेपालभरी सशस्त्र प्रहरीमा अहिलेसम्म ३ सय ८८ जनामा संक्रमण देखिएको छ। जसमा २ सय २४ जनाको उपचार भइरहेको छ।