नेपालको राष्ट्रिय स्क्वास टिमका प्रशिक्षक हिरा थापा कोरोना भाइरसबाट संक्रमित भएका छन्।
उनलाई आइतबार कोरोना भाइरस भएको पुष्टि भएको हो।
सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित स्क्वास हलमा सँगै खेलेका साथीलाई कोरोना भएपछि थापाले परीक्षण गराएका थिए।
'सँगै खेलेका साथीलाई कोरोना भएपछि मेरो पनि परीक्षण गर्दा पोजेटिभ आएको भन्ने स्वास्थ्य मन्त्रालयबाट जानकारी आएको छ,' थापाले भने।
आफूमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको थापाले बताए।
'मलाई कोरोनाको कुनै पनि लक्षण देखिएको छैन। अहिले स्वास्थ्य मन्त्रालयबाट मेडिकल टिम आउछ भन्नु भएको छ। त्यसपछि थप थाहा होला,' उनले भने।
अब सातदोबाटोकै स्क्वास एकेडेमीमा क्वारेन्टिनमा बस्ने थापाले बताए।
'मलाई कोरोना देखिएपछि परिवारको पनि परीक्षण गराउनु पर्छ। अब यहिँ क्वारेन्टिनमा बस्छौ होला,' थापाले भने।
सातदोबाटोमा सँगै खेलेका साथीले गत आइतबार कोरोनाको लक्षण देखिएको बताएका थिए। त्यसपछि परीक्षण गर्दा ती व्यक्तिलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि थापासहित ६ जनाले कोरोना परीक्षण गराउँदा उनलाई मात्र कोरोना पुष्टि भएको हो।
१७ पटकका राष्ट्रिय स्क्वास च्याम्पियन थापा २०६० देखि राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक हुन्। लामो समय स्क्वासमा बिताएका थापाले नवौं सागमा कास्य जितेका थिए।
थापाको छोरा र छोरी पनि स्क्वास खेलाडी हुन्। छोरा अमृत र छोरी कृष्णाले १३औं सागमा कास्य जितेका थिए।