नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षको उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ।
२३औं वार्षिकोत्सवका अवसरमा ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको रिभाईभ लिजर पार्कमा भएको सम्मान कार्यक्रममा पुरुषतर्फ युनिस गौतम र महिलातर्फ रिना धिमाल वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भए।
सर्वोत्कृष्ट प्रशिक्षकमा रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ र उदियमान प्रशिक्षकमा बिक्रम बाठा मगरले पुरस्कार पाए। यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं. २ र उत्कृष्ट जिल्लामा मोरङ्ग जिल्ला रहे।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्यद्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई, आईटिएफका अध्यक्ष अञ्जन धमलाले बिहीबार एक कार्यक्रमकाविच बर्ष २०१९ का उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन्।
आईटिएफले आफ्नो बार्षिकोत्सवका अवसरमा सामाजिक सेवा, जस्तै रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, बृद्धहरुलाई खाना खुवाउने कार्यक्रम र बर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश तथा जिल्लालाई सम्मान गर्ने कार्यक्रमहरु गर्दै आईरहेको छ।