नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन्।
ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका राजवैद्यलाई अध्यक्ष जीवनराम श्रेष्ठले कार्यकारी निर्देशकको नियुक्ती पत्र बुधबार प्रदान गरे।
कमिटीको विधानको भाग ९ को धारा ३९ को उपधारा १ अनुसार वैद्यलाई कार्यकारी निर्देशकको रुपमा नियुक्त गरिएको हो। अब उनले कमिटीको प्रशासनको नेतृत्व गर्नेछन्।
अध्यक्ष श्रेष्ठका अनुसार नेपाल ओलम्पिक कमिटीको इतिहासमा पहिलो पटक कार्यकारी निर्देशक नियुक्त गरिएको हो।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष राजवैद्यले सन् १९८५ मा एमबिए गरेका थिए। पूर्व खेलाडी राजवैद्यले राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपमा लगातार तीन पटक युगल स्पर्धाको उपाधि जितेका थिए।
२०४६ सालमा संघको सदस्य बनेका उनी त्यसपछि कोषाध्यक्ष बने। २०६३ सालमा उनी संघको अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि उनी लगातार दुई पटक अध्यक्ष बनिसकेका छन्।