सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि भदौ १ बाट प्रशिक्षण गर्न दिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो। यस्तै अन्तर्राष्ट्रिय खेलकुदका प्रारम्भिक चरणका खेल पनि भदौ १ बाट गर्न दिने पनि मन्त्रिपरिषद्को निर्णय छ।
'अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरू भदौ १ गतेबाट गर्न पाउने गरि निर्णय भएको छ,' सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री युवराज खतिवडाले भने।
यद्यपी समूहमा खेलिने घरेलु खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुतीहरू भने सञ्चालन गर्न पाइनेछैन। समूहमा खेलिने प्रतियोगिताहरू सञ्चालन गर्ने मिति अर्को सूचनाबाट जानकारी गराउने प्रवक्ता खतिवडाले बताए।
कोरोना भाइरसका कारण गत चैत पहिलो सातादेखि नेपालमा आयोजना हुने सबै खाले खेलकुद प्रतियोगिता र गतिविधि ठप्प छन्। कतिपय खेलाडीले भने सुरक्षा अपनाएर प्रशिक्षण गरिरहेका छन्।
सरकारले भदौ एकदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षण गर्न दिने भएपछि नेपाली फुटबल टिमले विश्वकप छनोटको तयारी गर्न पाउने भएको छ। यस्तै क्रिकेट टिमले आइसिसी विश्वकप लिग-२ का लागि तयारी थाल्न सक्ने भएको छ।
यसअघि नेपाल क्रिकेट संघले असार दोस्रो साता तथा अखिल नेपाल फुटबल संघले साउन पहिलो सातादेखि प्रशिक्षण गर्ने निर्णय गरे पनि सरकारको अनुमति प्राप्त भएको थिएन।
फुटबल र क्रिकेटबाहेक ओलम्पिकको तयारीमा रहेका कराते, तेक्वान्दो लगायतका खेलाडीले पनि औपचारिक रुपमा प्रशिक्षण थाल्न पाउने भएका छन्।