राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध कर्मचारी तथा प्रशिक्षकले खेलकुद संघबाट राजीनामा दिने क्रम जारी छ।
ऐनमा राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध कर्मचारी र प्रशिक्षकले कुनै पनि खेलकुद संघमा बस्न नपाइने व्यवस्था छ। त्यसैले गत सोमबारसम्म ३३ कर्मचारी र प्रशिक्षकले विभिन्न संघको कार्यसमितिबाट राजीनामा दिएका थिए।
तेक्वान्दो संघको कार्यसमितिको पद त्याग्दै प्रशिक्षक रोज्ने क्रममा ओलम्पियनद्वय दीपक विष्ट र संगीना वैद्यले पनि तेक्वान्दो संघबाट बुधबार राजीनामा दिएका छन्।
दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजीनामा दिएका हुन्। दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन्।
यता राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले भने अखिल नेपाल फुटबल संघ (एन्फा) रोजेका छन्। एन्फाको उपाध्यक्ष रहेका सिंहले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सहायक प्रशिक्षकको जागिर त्यागेका छन्।
पदाधिकारी सिंह एन्फाको प्रशिक्षकको भूमिकामा पनि रहने गरेका छन्।
तीनै जनाले सम्बन्धित संघमा राजीनामा बुझाएको र त्यसको बोधार्थ राखेपलाई दिएका छन्।
यसअघि परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले चार वटा संघको कार्यसमितिबाट राजीनामा दिएका थिए।
उनले अखिल नेपाल टेबल टेनिस संघको सदस्य, नेपाल तड. ईलमादो संघको सदस्य, नेपाल इकवेष्ट्रीन संघको सचिव र नेपाल हात्ती खेल संघको सदस्यबाट राजीनामा दिएका हुन्।