उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ।
नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो।
महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका थिए।
संकलित रकम हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले अहिलेको असहज परिस्थितिमा पनि वीरमानले नेपाली खेलकुदमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै सबै पदाधिकारी मिलेर सानो सहयोग गरेको बताए। उनले वीरमानको निधनबाट नेपालली खेलकुदले निकै प्रतिभावान खेलाडी गुमाएको बताए।
स्वर्गीय वाइवाका दाजु किसन वाइवाले विषम परिस्थितिमा पनि महासंघले भाइको योगदानप्रति सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे। उनले वीरमानको स्मृतिमा प्रतिष्ठान गठन गरिने जानकारी पनि दिए।
वीरमानको गत असार १४ मा काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो। राति सुतेका उनी आइतबार विहान मृत अवस्थामा भेटिएका थिए।
२०५० सालमा जन्मिएका वीरमान उसु खेल्नु अघि क्योकुसिन करातेका खेलाडी थिए। उनको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासंघले जनाएको छ।
उनी सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागीता जनाउन गएका थिए। तर उनले खेल्न पाएनन्। त्यसअघि उनले राखेप च्याम्पियनसिपमा पदक जितेका थिए ।