१३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनबाट स्वर्ण जितेकी सञ्जु चौधरीले आफूमाथि अपमान भएको बताएकी छिन्।
नेपाल पुलिसकी खेलाडी सञ्जुले नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार सातौं नगरसभामा सम्मान गर्ने भन्दै अपमान गरेको बताएकी हुन्।
नेपालगन्ज उपमहानगरले सञ्जुलाई सम्मान गर्ने भन्दै मंगलबार नै खबर गरेको थियो। काठमाडौंमा रहेकी सञ्जुले आफू आउन नसक्ने भन्दै आफ्ना अविभावकलाई कार्यक्रममा पठाएकी थिइन्।
तर उपमहानगरले आवश्यक प्रमाण नपुगेको भन्दै अन्तिम समयमा सम्मान गरेन।
आफ्ना अविभावक रित्तो हात फर्केपछि सञ्जुले फेसबुकमा आक्रोश व्यक्त गरेकी छिन्।
'खेलाडीको स्वाभिमान हुँदैन र, कुरा नबुझी सम्मान छ भन्दै बोलाउने, आफू नसके परिवारको मान्छेलाई पठाउ भन्ने, परिवारको मान्छे पुगेपछि कुरा मिलेन भनेर जाउ भन्ने?,' सञ्जुले लेखिकी छिन्।
उनले आफूलाई पैसाको लोभ नभएको भन्दै अघि लेखकी छिन्,'हामीलाई पैसा चाहिएको होइन, सम्मान चाहिएको हो।’
गत मंसिरमा भएको सागमा महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्।
सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा कूलतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी थिइन्।
गत वर्ष नेपाल पुलिस क्लबमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेकी थिइन्।
नेपाललाई ऐतिहासिक स्वर्ण दिलाए पनि जिम्मेवार निकायबाट अपमानित भएपछि सञ्जुले भविष्यमा खेलाडी उत्पादन हुनेमा आशंका गरेकी छिन्।
'यस्तै हुने हो भने आउने दिनमा अरु खेलाडीको परिवारले आफ्ना सन्तानलाई खेल्न दिन्छन्?’,' उनको भनाइ छ,' पैसा होइन स्वाभिमान चाहिएको हो। खेलाडीले देशका लागि खेल्ने हो, त्यसपछि आफ्ना लागि।’