टोकियो ओलम्पिकको छात्रवृत्ति पाएका कराते खेलाडीद्वय अनु अधिकारी र नवीन रसाइलीका पछिल्ला चार महिना उकुसमुकसमै बित्यो। लकडाउनका कारण घरमै बस्नुपर्दा दुवैले राम्रोसँग अभ्यास गर्न पाएका थिएनन्।
जुमबाट भर्चुअल प्रशिक्षण गरे पनि प्रभावकारी हुन सकिरहेको थिएन। त्यसैले १३औं दक्षिण एसियाली खेलुकद (साग) का स्वर्ण विजेता अनु र नवीन म्याटमा प्रशिक्षण गर्न आतुर थिए।
चार महिनाको प्रतिक्षाको घडी दुई साताअघि समाप्त भयो। दुवैले दुई सातादेखि सातदोबाटोस्थित कराते एकेडेमी हलको म्याटमा अभ्यास गरिरहेका छन्।
कराते प्रशिक्षक दिपक श्रेष्ठले अभ्यास सुचारु गराउनका लागि राष्ट्रिय खेलुकद परिषद्मा पहल गरेपछि चार महिनापछि अभ्यास सम्भव भएको हो।
'चार महिनासम्म पनि अभ्यास सुचारु नहुँदा खेलाडी र प्रशिक्षकमा चिन्ता बढेको थियो। त्यसैले खेलकुद परिषद्बाट मौखिक अनुमति पाएपछि दुई सातादेखि अभ्यास गरिरहेका छौं,' राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका प्रशिक्षक श्रेष्ठले भने।
प्रशिक्षण साताको चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार हुने गरेको छ।
प्रशिक्षणका दौरान कोरोना भाइरसबाट जोगिनका लागि सुरक्षा अपनाइएको प्रशिक्षक श्रेष्ठले बताए। उनका अनुसार अभ्यास हल बाहिर साबुन पानीले हात धुने व्यवस्था गरिएको छ भने अभ्यासपछि म्याट सफा गर्ने गरिएको छ। यस्तै अभ्यासमा सहभागीको ज्वरो पनि नापिने गरिएको छ।
यस्तै प्रशिक्षणका दौरान खेलाडीहरुले भाइजर लगाउने गरेका छन्।
'करातेको अभ्यास गर्दा ठूलो आवाज निकालेर कराइन्छ। ठूलो आवाज निकाल्दा थुक निक्लिनु स्वभाविक हो,' श्रेष्ठले भने,'त्यसैले सँगै अभ्यास गरिएको व्यक्तिसम्म थुक नपुगोस् भनेर भाइजर लगाउने नियम बनाएका हौं।'
भाइजर लगाएर अभ्यास गर्दा अरुबेला भन्दा अप्ठेरो हुने गरेको छ। 'अप्ठेरो त हुन्छ तर पनि अभ्यास नगरी बस्नु भन्दा यो नै उत्तम उपाय हो,' श्रेष्ठले भने।
श्रेष्ठले अभ्यासमा सहभागी खेलाडीका लागि 'डायरी' उपलब्ध गराएका छन्। 'डायरीमा दिनभर भेटेका मानिसको नाम र आफू गएको स्थान लेख्न भनेको छु,' उनले भने।
दुई साताअघि दुई जना खेलाडीबाट सुरु गरिएको प्रशिक्षणमा खेलाडी थपिने क्रम जारी छन्। अहिले १२ जना खेलाडीले अभ्यास गर्छन्।
अहिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेका खेलाडी अभ्यासका लागि पुग्ने गरेका छन्।
ओलम्पकिको छात्रबृत्ति पाएका अनु र नवीनले सुरुमा ओलम्पिक छनोट खेल्नेछन्।
छनोट पार गर्न नसकेको अवस्थामा दुवैले ओलम्पिक खेल्नका लागि वाइल्ड कार्ड पाउनु पर्नेछ। छात्रबृत्ति पाएका खेलाडीले वाइल्ड कार्ड पाउने सम्भावना बढी हुने हुन्छ तर पक्का नै भने हुँदैन।