१३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि कीर्तिमानी चार स्वर्ण जितेकी पौडीबाज गौरिका सिंहले डडेल्धुरा अस्पतालमा कोरोना परीक्षणका लागि खरिद गरिएको पिसिआर मेसिनका लागि आर्थिक सहयोग गरेकी छिन्।
गौरिकाले मेसिन खरिदका लागि १ लाख रुपैयाँ प्रदान गरेकी हुन्। हाल लन्डनमा रहेकी गौरिकाले हजुरबुबा लोकभक्त राणामार्फत सहयोग रकम प्रदान गरेकी हुन्।
गौरिकाको सहयोग रकम ह्युमानिटी फाउन्डेशनलाई प्रदान गरिएको थियो। फाउन्डेसनले सहयोगमार्फत उठेको रकमले पिसिआर मेसिन खरिद गरिसकेको छ।
'मैले पिसिआर मेसिन किन्नका लागि सहयोग गरेँ,' गौरिकाले इन्स्टाग्रममा लेखेकी छिन्,'कृपया सक्नुहुन्छ भने तपाई पनि केहि पैसा दान गर्नुहोस्। केहि नदिनु भन्दा १० रुपैयाँ दान पनि राम्रो हुन्छ।'
तीन महिनाअघि गौरिकाका पिता पारस सिंहलाई कोरोना संक्रमण भएको थियो। सिंह लन्डनमा चिकित्शक छन्। पुर्खौली घर सुदूरपश्चिमकको बझाङका सिंह अहिले कोरोना मुक्त भइसकेका छन्।
पिसिआर मेसिनका लागि गौरिकासहित अन्य खेलाडी पनि सहयोग गरेका थिए। जसमा तोक्वान्दो जोडी दिपक विष्ट र आयशा शाक्याले २० हजार दिएका थिए। यस्तै तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्द, नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्द, राष्ट्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, क्रिकेट प्रशिक्षक जगत टमाटा र क्रिकेटर नरेश बुढाएरले समान १०-१० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए।
१३औं सागका स्वर्ण विजेता वीरबहादुर महरा ८ हजार दिँदा ओलम्पियन निशा रावल, पारा तेक्वान्दो संघका सदस्य हेमन्त भट्टराई, सुरेन्द्रसिंह विष्टले ५-५ हजार सहयोग गरे। भलिबल प्रशिक्षक जगदिश भट्ट, कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाट, कबड्डी प्रशिक्षक विष्ट दत्त, कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले ३-३ हजार रुपैयाँ पिसिआर मेसिन खरिदका लागि दिएका थिए।
कोरोना परीक्षणका लागि पिसिआर मेसिन खरिद गरी डडेल्धुरा अस्पताललाई १० दिन हस्तान्तरण गरिएको थियो। फाउण्डेशनका अध्यक्ष श्याम तायलले डडेल्धुरा उप–क्षेत्रीय अस्पतालका अध्यक्ष करुणाकर ओझालाई मेसिन हस्तान्तरण गरेका थिए।
सुदूरपश्चिम प्रदेशमा एक मात्र पिसिआर मेसिन भएकाले संकलन भएको स्वाव नमूना समेत परीक्षण हुन नसक्दा काठमाडौं पठाइँदै आएको थियो।
भारतबाट सबैभन्दा धेरै नागरिक प्रदेशमा आएको, केहीले ज्यान समेत गुमाएकाले थप जटिलता बढ्न सक्ने भएकाले परीक्षण बढाउन सामाजिक क्षेत्रबाट मेसिन खरिद गरिएको फाउण्डेशनको भनाइ छ। फाउण्डेशनलाई मेसिन खरिदका लागि समाजसेवी, बुद्धिजिवी तथा प्रवासी नेपालीबाट पनि सहयोग प्राप्त भएको थियो।