युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीका कारण सरकारले खेलकूदका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताएका छन्।
आर्थिक वर्ष २०७७–७८ को विनियोजन शीर्षकमाथिको छलफलमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री विश्वकर्माले महामारीकै कारण खेलकुदमा बजेट कम भएको बताएका हुन्।
'बजेट न्यून भएका कारण खेलकुदका सबै विषयलाई सम्बोधन गर्न सकेका छैनौँ, १९ करोड बजेटले कहाँ के गर्ने?, उनले भने, 'पुरानै तथा अत्यवाश्यक काममा मात्र खर्च गरिनेछ।'
अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा मन्त्रालयका लागि रु दुई अर्ब ३८ करोड बजेट विनियोजन गरेका थिए।
उक्त बजेटमध्ये स्थानीय तहमा सञ्चालित खेलग्रामका लागि रु ४० करोड विनियोजन गरिएको छ। चालु आवमा ८४ स्थानीय तहमा खेलग्रामअन्तर्गत बजेट विनियोजन भई काम भइरहेको छ।
यस्तै बजेटको झण्डै डेढ अर्ब रुपैयाँ कर्मचारीको तलबमा खर्च हुनेछ। पुराना आयोजनालाई बजेट निरन्तरता दिँदा नयाँ आयोजनाका लागि १९ करोड बजेट उपलब्ध भएको छ।
'आगामी आवमा ती पुरानै संरचना निर्माण सम्पन्न गरिनेछन्, केही पालिकामा पूर्वाधार निर्माणको काम अघि बढाइने छ’’, मन्त्री विश्वकर्माले भने।
सरकारले विभिन्न खेल संघलाई बजेट विनियोजन गरेको र खेलाडीका लागि दुर्घटना बीमालगायत कामका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए।
गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ सागमा ऐतिहासिक जीत हासिल भएको छ भन्दै मन्त्री विश्वकर्माले उक्त सागका स्वर्ण पदक विजेतालाई मासिक रु छ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको बताए।
केही सांसदले मन्त्रीका क्षेत्रमा बजेट केन्द्रित रहेको आरोपको खण्डन गर्दै उनले बजेट कुनै क्षेत्र र तहमा केन्द्रित नरहेको स्पष्ट पारे। विगतमा अघि बढाइएका संरचना निर्माणमा बजेट खर्च गरिने र बाँकी भौतिक पूर्वाधार निर्माणका काम आगामी वर्षमा गरिने उनको भनाइ थियो।
आगामी फागुनमा गण्डकी प्रदेशका ११ जिल्लासहित पोखरामा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले दशौँ राष्ट्रिय खेलकूद कर्णाली वा प्रदेश नं २ मा आयोजना गर्ने सरकारको योजना रहेको बताए।
सरकारले इटहरी, जनकपुरधाम, पोखरा, वीरगञ्ज, वीरेन्द्रनगर, नेपालगञ्ज र धनगढीस्थित रंगशालालाई प्रदेशस्तरीय रंगशालाका रुपमा निर्माण गर्न बजेट विनियोजन गरेको उनको भनाइ छ।
आफ्नो कार्यकालमा विभिन्न खेल संघको विवाद समाधान गरिएको उनले स्पष्ट पारे। उनका अनुसार काठमाडौँको मूलपानीसहित देशका नौ ठाउँमा क्रिकेट रंगशाला निर्माण अघि बढाइएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)बाट आर्थिक लाभ लिएको भन्ने आरोपको खण्डन गर्दै मन्त्री विश्वकमाले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न सम्बन्धित सांसदलाई चुनौती दिए। उनले सो आरोप संसद्को रेकर्डबाट हटाउनसमेत माग गरे। मन्त्री विश्वकर्माले विनाआधार आफ्नो छवि धमिल्याउने काम गरिएको छ भन्दै आफूले खेलकूदको क्षेत्रमा अभूतपूर्व काम गरेको जिकिर गरे।
निष्ठा र इमानका साथ आफ्नो जिम्मेवारी पूरा गर्न लागिपरेको उनको भनाइ थियो ।
सो अवसरमा सांसद रंगमती शाही, प्रेम सुवाल र एकवाल मियाँले मन्त्री विश्वकर्मालाई पूरक प्रश्न गरेका थिए।
सांसद शाहीले खेलकूदको बजेट कम भएको, सांसद सुवालले युवालाई राष्ट्रिय सेवा दलको तालीम तथा सांसद मियाँले देशकै पुरानो वीरगञ्ज रंगशाला जीर्ण भएका बारे प्रश्न सोध्नाका साथै तराई –मधेशमा लोकप्रिय कुसती र कबड्डी खेललाई प्राथमिकतामा राख्न मन्त्री विश्वकर्मालाई आग्रह गरेका थिए।