लकडाउनका कारण बन्द भएका जिम खुलाउन काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघले माग गरेको छ।
संघले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापन पत्र बुझाउँदै जिम खुलाउन माग गरेको हो।
'अहिले दैनीक व्यायाम गर्नु जरुरी देखिन्छ। जसका लागि बन्द रहेको जिम तथा फिटनेस सेन्टर यथाशिघ्र छिटो खोल्नु जरुरी देखिन्छ,' संघका अध्यक्ष सुरेश सुवेदीले बुझाएको पत्रमा भनिएको छ।
काठमाडौं जिल्लामा हाल करिब २०० वटा जति जिमहरु रहेका छन्। जसमा अरब भन्दा बढी लगानी भएको संघले जनाएको छ। हाल बन्दका कारणले जिम संचालकहरुले कर्मचारीहरुलाई तलब, घरभाडा, बैंक ब्याज, बिजुलीको महशुल र नेपाल सरकारलाई बुझाउनुपर्ने कर बुझाउन नसक्ने स्थितिमा पुगेको संघको भनाइ छ।
'जिम बन्दको असर हजारौं बिरामी नागरिकमा समेत परेको छ। प्रेसर, सुगर, फिजियो थेरापी गर्नुपर्ने, नसा सम्बन्धी रोग, डिप्रेसनका बिरामीहरुलाई त झन् बढी असर परेको छ। नियमहरु लागू गरी यथाशिघ्र जिम संचालनको अनुमति दिन हार्दिक अनुरोध गर्दछौं,' संघको भनाइ छ।
संघले जिममा प्रवेश गर्दा तापक्रम नाप्ने, साबुन पानीले हात खुट्टा धुने, स्यानिटाइजर प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, प्रत्येक एक घण्टाको प्रयोगपछि जिमका मेसिनहरु स्यानिटाइजेसन नियम लागू गर्न सुझाव दिएको छ। यस्तै मास्क, पञ्जा, जिम हल भित्र मात्र लगाउने लुगा र जुत्ता अनिवार्य गर्ने, एक पटकमा १० जनासम्म मात्र प्रवेश गराउने र एक घण्टा पछि आधा घण्टा जिम सफा गर्न छुट्याउने पनि संघको सुझाव छ।