युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले राष्ट्रियताको विषयमा दिएको 'विवादित अभिव्यक्ति' को विषयमा अनविज्ञता प्रकट गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदले उठाएका प्रश्नमाथि जवाफ दिँदै मन्त्री विश्वकर्माले एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्तिको विषयमा जानकारी नभएको बताएका हुन्।
तीन साताअघि एक मिडियामा फेसबुक लाइभमार्फत दिएको अन्तर्वार्तामा 'तराईतिर जाँदा राष्ट्रियताको भावना अलि कम' भएको बताएपछि अध्यक्ष शेर्पा विवादित बनेका थिए।
त्यसपछि समाजवादी पार्टीका सांसद प्रदीप यादवले शेर्पालाई निलम्बन गर्न माग गरेका थिए। साथै यादवले शेर्पा र खेलकुद मन्त्रीको सम्बन्धको विषयमा पनि प्रश्न उठाएका थिए।
'एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले के भन्नु भयो भन्ने छ, मेरो जानकारीमा छैन। उहाँले कहाँ, के अन्तर्वार्ता दिनुभयो, के भन्नुभयो मलाई थाहा छैन। कता-कताको कुरा ल्याएर मन्त्रीलाई विवादमा तान्नु खोज्नु उचित हुन सक्दैन,' मन्त्री विश्वकर्माले भने, 'राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र कानुनविपरित काम गर्नेलाई कुनै छुट नदिने, प्रमाणका आधारमा कानुनबमोजित दण्डित गरिन्छ। व्यक्तिको अनुहार हेरेर युवा तथा खेलकुद मन्त्रायलमा कुनै काम हुँदैन र भएको पनि छैन।'
सांसद यादवले कास्कीमा बन्न लागेको १७ करोड रुपैयाँको एकेडेमीको प्रसंगमा बोल्ने क्रममा मन्त्री विश्वकर्मालाई आरोप समेत लगाएका थिए। सांसद यादवले 'एन्फाले मन्त्रीलाई १७ करोड दिएको हो?' भनेर प्रश्न गरेका थिए।
आफूलाई एन्फाले १७ करोड रुपैयाँ दिएको भन्ने आरोप प्रमाणीत गर्न पनि मन्त्री विश्वकर्माले चुनौती दिए।
'माननीयज्यूले के भन्न खोज्नु भएको हो, स्पष्ट गर्नुपर्यो। त्यहि कुरा भन्न खोज्नु भएको भने गम्भीर हो। त्यसलाई पुष्टि गर्न र प्रमाणित गर्न चुनौनी दिन्छु,' उनले भने,'१७ करोड रुपैयाँ एकेडेमीका लागि छुट्याएको छ र त्यहि प्रसंगमा भन्नु भएको भए मेरो गल्ती छैन।'
मन्त्री विश्वकर्माले सांसद यादवले लगाएको आरोप संसदको रेकर्डबाट हटाउन पनि माग गरेका छन्।