एशियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एण्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिप २०२० मा नेपालले सहभागिता जनाएको छ।
कोरोना भाइरसका कारण विश्व नै लकडाउन भएको अवस्थामा आफ्ना सदस्य राष्ट्रका खेलाडीहरुलाई क्रियासिल गर्दै मानसिक पिडाबाट मुक्त तथा स्वस्थ बनाउने उद्देश्यले प्रतियोगिता बुधबार २७ मे देखि ४ जुनसम्म हुँदैछ।
च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ अबिश्री श्रेष्ठ, विवेक श्रेष्ठ र निकेन कुसथा र गल्र्स तर्फ खुस्बु थापा, अनिषा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराइन्।
प्रतियोगिता स्विस प्रणाली अन्तरगत ९ चरणको हुनेछ । ३.२ जोन अन्तरगत हुने प्रतिस्पर्धामा नेपाल लगायत बंगालादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स गरि ५ राष्ट्रले सहभागिता जनाउने छन्। च्याम्पियनसिपमा प्रत्येक राष्ट्रका तीन पुरुष र तीन महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन्।
च्याम्पियनसिपमा फिडेका ३.१, ३.२, ३.३, ३.४, ३.६ र ३.७ गरि ६ जोनका छनोट चरणका खेल हुनेछन्। प्रत्येक जोनमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाईनल चरणका लागि छनोट हुनेछन्।
फाइनल चरण पनि स्विस प्रणालीमानै ९ चरणकै हुने आयोजकले जनाएको छ। छात्रा तर्फ शीर्ष तीन फाइनल चरणका लागि छनोट हुने छन्। खुला जुनियर शिर्ष तीन भित्र पर्ने छात्रा खेलाडीले जुनियर अथवा छात्रा च्याम्पियनसिप फाईनल चरण दुई मध्ये एक छान्न पाउनेछन् र यदि छात्रा च्याम्पियनसिपलाई छनोट गरेमा चौथो स्थान प्राप्त गर्ने खेलाडी जुनियर फाईनल चरणका लागि छनोट हुनेछन्। फाईनल चरण पनि स्विस प्रणाली अन्तरगत ९ चरणकै हुने आयोजकले जनाएका छन्।
नेपाल रहेको जोनको प्रतियोगिता बंगालादेश समय अनुसार विहान १० बजे देखि अपरान्ह ३ बजेसम्म हुनेछ। प्रत्येक खेलाडीहरुले प्रतियोगिता सुरु हुनु अगावै अनलाइनमा दर्ता हुनु पर्नेछ । प्रतियोगिता सुरु भए पश्चात कुनै पनि खेलाडीलाई प्रतिस्पर्धामा सामेल गराईने छैन। खेलाडीहरुले प्रतिस्पर्धा समय सम्म अनलाईनमानै रहनु पर्नेछ। कुनै पनि खेलाडीहरुले आर्बिटरको अनुमति बेगर आफ्नो कुर्सी छोड्न पाउने छैनन्।
विजेतालाई एशियन जुनियर (छात्रा) अनलाईन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शीर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद १ हजार ५ सय, १ हजार र ५ सय डलर प्रदान गरिने छ। यस्तै महिला तर्फ शीर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कारका प्राप्त गर्नेछन् ।
यस्तै नेपाल चेस संघले वैकल्पिक खेलाडीहरुलाई अनलाइनल मार्फत हुने च्याम्पियनसिपलाई अध्यन गर्न र अनलाइन मार्फत नै जुनियर खेलाडीहरुलाई विभिन्न प्रशिक्षण कार्यक्रमका साथै युथ ईम्पावरमेन्ट सेमिनार पनि संचालन गरिरहेको छ।