गत मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका तीन जना पाकिस्तानी खेलाडी डोपिङमा असफल भएका छन्।
प्रतिबन्धित औषधी सेवनका कारण डोपिङमा असफल भएका उनीहरूमाथि चार वर्षको प्रतिबन्ध लाग्न सक्नेछ।
पाकिस्तान एम्याच्योर एथ्लेटिक्स फेडेरेसनलाई उधृत गर्दै टाइम अफ इन्डियाले स्वर्ण पदक जितेका दुई जना र कास्य जितेका एक जना पाकिस्तानी धावक डोपिङमा परेको जनाएको छ।
दशरथ रंगशालामा भएको एथ्लेटिक्सअन्तर्गत ११० मिटर हडल्समा स्वर्ण जितेका मोहमद नइम, ४ सय मिटर हडल्समा स्वर्ण जितेका मेहबुब अली र सय मिटरमा कास्य जितेका सामी उलाह डोपिङमा परेका हुन्।
११० मिनेटर हडल्समा भारतका खेलाडीले रजत र श्रीलंकाका खेलाडीले कास्य जितेका थिए। यस्तै चार मिटर हडल्समा रजत र कास्य दुवै पदक भारतीय खेलाडीले हात पारेका थिए।
'पाकिस्तान एथ्लेटिक्स फेडेरेसनलाई उनीहरु डोपिङमा असफल भएको रिपोर्ट प्राप्त भएको छ,' पाकिस्तानी अधिकारीले बताएका छन्।
विश्व एन्टी डोपिङ एजेन्सीको नियम पालन गर्दै अब उनीहरुलाई डोपिङको विषयमा स्पष्ट पार्ने मौका दिइनेछ। त्यसपछि उनीहरूलाई प्रतिबन्ध लगाउने विषयमा निर्णय हुनेछ।
'उनीहरूको स्पष्टिकरण चित्तबुझ्दो नभएमा चार वर्ष वा त्यो भन्दा बढी अवस्था हेरेर प्रतिबन्ध हुन सक्नेछ,' पाकिस्तानी अधिकारीले भनेका छन्।
गत मंसिरमा नेपालमा भएको सागमा पाकिस्तानले १३२ पदक जितेका थियो। जसमा ३२ स्वर्ण समावेश छन्।