१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक दिलाउने प्रशिक्षक मध्ये ६८ जनाले घोषित पुरस्कार पाउँदा ४४ प्रशिक्षकको भने पुरस्कार रकम रोकिएको छ।
सागमा पदक दिलाउने १ सय १२ मध्ये पेश्की फर्छौट गरेका ६८ जना प्रशिक्षकको खातामा पुरस्कार पठाइएको युवा तथा खेलकुद मन्त्रालयले जानकारी दिएको छ।
प्रशिक्षकहरुलाई कुल १ करोड ८६ लाख रुपैयाँ बैकमार्फत पठाइएको मन्त्रालयको भनाइ छ।
खेलकुद मन्त्रालयलाई पुरस्कार पाउन बाँकी प्रशिक्षक तथा खेल संस्थाहरुले पेश्की फर्छौट गरेपछि पुरस्कार पाउने जनाएको छ।
'पुरस्कार पाउन बाँकी प्रशिक्षक, सहायक प्रशिक्षक र खेल संस्थाको हकमा कार्यविधिअनुसार कुनै पेश्की वा सरकारी रकम बाँकी नरहेको ब्यहोरा राष्ट्रिय खेलकुद परिषदबाट लेखी आएपछि भुक्तानी गरिनेछ,' मन्त्रालयका प्रवक्ता डा मानबहादुर विकेको भनाइ छ।
सागमा स्वर्ण दिलाउने प्रशिक्षकलाई ५ लाख, रजत दिलाउनेलाई ३ लाख र कास्य दिलाउनेलाई २ लाख पुरस्कार दिने उल्लेख छ। यसैगरी स्वर्ण दिलाउने सहायक प्रशिक्षकलाई ३ लाख, रजतलाई २ लाख र कास्यलाई १ लाख पुरस्कार दिने कार्यविधिमा लेखिएको छ।
सागमा पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई भने बैंक खातामार्फत पुरस्कार रकम गत वैशाख ३ गते पठाएको थियो।
सिर तेस्रो साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो। साग लगत्तै विजेता खेलाडी तथा प्रशिक्षकलाई प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रम गरेर पुरस्कार दिने घोषणा गरेका थिए।
राष्ट्रिय खेलकुद परिषदमा १ अर्ब रुपैयाँ भन्दा बढी बेरुजु छ। त्यसैले अर्थ मन्त्रालयले परिषद्लाई रकम दिनुअघि पेश्की रकम फर्छौट गर्न दबाब दिँदै आएको छ। त्यसैले खेलकुद मन्त्रालयले प्रशिक्षकको बेरुजुमा कडाइ गरेको हो।
सागका पदक विजेता खेलाडी, प्रशिक्षक र संघले कति-कति पुरस्कार पाउँछन्?
| अहिले पाउने पुरस्कार | पहिलाको पुरस्कार |
व्यक्तिगत स्वर्ण | ९ लाख रुपैयाँ | ५ लाख रुपैयाँ |
व्यक्तिगत रजत | ६ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
व्यक्तिगत कास्य | ३ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
२ भन्दा बढी व्यक्तिगत स्वर्ण | प्रत्येक स्वर्णको ११ लाख रुपैयाँ | व्यवस्था नभएको |
टिम स्वर्ण - जनही | ६ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
टिम रजत - जनही | ४ लाख रुपैयाँ | १ लाख ७५ हजार रुपैयाँ |
टिम कास्य - जनही | ३ लाख रुपैयाँ | १ लाख रुपैयाँ |
स्वर्ण दिलाउने प्रशिक्षक | ५ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
रजत दिलाउने प्रशिक्षक | ३ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
कास्य दिलाउने प्रशिक्षक | २ लाख रुपैयाँ | १ लाख रुपैयाँ |
स्वर्ण दिलाउने सहायक प्रशिक्षक | ३ लाख रुपैयाँ | १ लाख ७५ हजार रुपैयाँ |
रजत दिलाउने सहायक प्रशिक्षक | २ लाख रुपैंयाँ | १ लाख रुपैयाँ |
कास्य दिलाउने सहायक प्रशिक्षक | १ लाख रुपैयाँ | ५० हजार रुपैयाँ |
स्वर्ण दिलाउने सम्बन्धित संघ | ५ लाख रुपैयाँ | ५ लाख रुपैयाँ |
रजत दिलाउने सम्बन्धित संघ | ३ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
कास्य दिलाउने सम्बन्धित संघ | २ लाख रुपैयाँ | २ लाख रुपैयाँ |