तेक्वान्दोको २०२० अनलाइन विश्व पुम्से (कला प्रदर्शनी) च्याम्पिनसिपमा नेपालका कमल श्रेष्ठले स्वर्ण जितेका छन्।
कोरोना भाइरसका कराण अनलाइमार्फत भएको प्रदर्शनी खेलमा कमलले ३० वर्ष मुनि विधामा स्वर्ण जितेका हुन्। उनी गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलुकद (साग) का स्वर्ण विजेता हुन्।
यसअघि कोरोनाभाइरसका कारण डेनमार्कमा हुने तय विश्व तेक्वान्दो पुम्से च्याम्पियनसिप रद्द भएको थियो। च्याम्पियनसिप मे २१ देखि २४ सम्म हुने तय थियो। कोरोनाले च्याम्पियनसिप रद्द भएपछि विश्व तेक्वान्दोले अनलाइनमार्फत भिडियो पठाएर प्रतिस्पर्धा गराएको हो।
तेक्वान्दो प्रशिक्षक दीपक विष्टका अनुसार खेलाडीहरुले आफूले प्रदर्शन गरेको तेक्वान्दो कलाको दुई वटा भिडियो लिङ्क निर्णायकहरुलाई पठाएका थिए। जसमा ३० वर्ष मुनिमा कमलले ७.६७ अंक प्राप्त गरेर स्वर्ण जितेका हुन्।
यहि विधामा नेपाली खेलाडहरूले रजत र कास्य पनि जितेका छन्। जितबहादुर बोटले ७.५४ अंक ल्याएर रजत र प्रेमबहादुर लिम्बुले ७.५० अंङ्क ल्याएर कास्य जितेका छन्। बोट र लिम्बु दुवै जना १३औं सागका कास्य विजेता खेलाडी हुन्।
नेपालकै सुरेन्द्रबहादुर महरा नवौं स्थामा सीमित भएका छन्। यो स्पर्धामा ८ देशका ११ खेलाडीले अन्तिम प्रतिस्पर्धा गरेका थिए।
महिलातर्फको ३० वर्ष मुनि तौल समूहमा नेपालकी पार्वती गुरुङ दोस्रो भएकी छिन्।
उनलाई अमेरिकाकी करिना बेलसेलाले पछि पारेर स्वर्ण जितेकी छिन्। पार्वतीले १३औं सागमा स्वर्ण जितेकी थिइन्।