१३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीले घोषित पुरस्कार चार महिनापछि पाए।
गत मंसिरमा नेपालमा सम्पन्न साग लगत्तै विजेता खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रम गरेर पुरस्कार दिने घोषणा गरेका थिए।
युवा तथा खेलकुद मन्त्रालयको लेखा शाखाले सागमा पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई बैंक खातामार्फत पुरस्कार रकम गत वैशाख ३ गते पठाएको थियो।
तर यिनै खेलाडीलाई पदक जित्न योग्य बनाउने प्रशिक्षक र खेल संघलाई भने घोषित पुरस्कार प्रदान गरिएको छैन।
पुरस्कार पाउनेले बेरुजु वा अन्य बाँकी रहेको-नरहेको भन्ने स्व:घोषणा गर्ने बाध्यात्मक व्यवस्था खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि रहेको छ। यो व्यवस्था खेलाडीको हकमा कडाइ नभए पनि प्रशिक्षक र संघलाई कडाइका साथ लागू गरिएको छ।
प्रशिक्षकलाई पुरस्कार नदिएको प्रति कराते प्रशिक्षक दिपक श्रेष्ठले असन्तुष्टि जनाएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले खेलाडीलाई सफलता दिलाउन भूमीका खेलेका प्रशिक्षकलाई अहिलेसम्म पुरस्कार नदिएर अपमान गरेको बताए।
केहि प्रशिक्षकको पेश्की फर्छौट नभएकाले पुरस्कार प्रदानमा ढिलाइ भएको राष्ट्रिय खेलकुद परिषद्का राष्ट्रिय टिम तयारी शाखा प्रमुख महेन्द्रकुमार राईको भनाइ छ। 'कतिपय प्रशिक्षक साथीहरूले पेश्की फर्छौट नगरेकाले पुरस्कार प्रदानमा ढिलाइ भएको हो,' उनले भने।
'प्रशिक्षकलाई विभिन्न कारण देखाउदै सम्मान नगर्दा अपमान भएन र?', उनले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेका छन्, 'यस्तो निर्णयबाट प्रशिक्षकलाई अपमान गर्दापनि अरुबेला सबै प्रशिक्षक र कर्मचारीको अभिभावक संस्था हामी हौ भन्नेहरु कुन दुलोमा छन्?'
उनले प्रशिक्षकहरुलाई पेश्की लिन बाध्य पारेकोमा पनि असन्तुष्टि ब्यक्त गरेका छन्।
'सम्बन्धित संघलाई दिनु पर्ने पेश्की प्रशिक्षकलाई बाध्यताले बोकाइदिएका छन्। कुनै पनि प्रशिक्षकले आफ्नो रहरले पेश्की लिएका छैनन्,' श्रेष्ठको भनाइ छ,'पेश्कीका कारण सागका प्रशिक्षकहरुलाई पुरस्कार रकम नदिनु कत्तिको न्यायोचित हो?'
श्रेष्ठको भनाइमा एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, तेक्वान्दो प्रशिक्षक दिपक विष्ट र फुटबलका प्रशिक्षक हरि खड्काले सहमति जनाएका छन्।
चौधरीले भन्ने बेलामा खेलाडी र प्रशिक्षकको सम्बन्ध नङ र मासुको जस्तो भए पनि व्यवहारमा त्यस्तो नभएको उल्लेख गरेका छन्।
प्रशिक्षक विष्टले लेखेका छन्,'१३ औं सागका पदक विजेता प्रशिक्षकलाई पुरस्कार दिन विभिन्न बाहानामा गरिएको यो आलटाल होइन अपमान हो। आफूले पाउनु पर्ने पुरस्कारका लागि गुनासो गर्नुपर्ने बाध्यता सायद नेपालमा मात्रै होला। प्रशिक्षकले पुरस्कारकै लागि काम गरेका हुँदैनन् तर कम्तीमा अपमान त नगरौं।'
सागमा पदक जिताउने प्रशिक्षकलाई र सहायक प्रशिक्षकलाई पदक दिने व्यवस्था छ।
स्वर्ण दिलाउने प्रशिक्षकलाई ५ लाख, रजत दिलाउनेलाई ३ लाख र कास्य दिलाउनेलाई २ लाख पुरस्कार दिने उल्लेख छ।
यसैगरी स्वर्ण दिलाउने सहायक प्रशिक्षकलाई ३ लाख, रजतलाई २ लाख र कास्यलाई १ लाख पुरस्कार दिने कार्यविधिमा लेखिएको छ।
खेलाडी, प्रशिक्षक र संघले कति-कति पुरस्कार पाउँछन्?
| अहिले पाउने पुरस्कार | पहिलाको पुरस्कार |
व्यक्तिगत स्वर्ण | ९ लाख रुपैयाँ | ५ लाख रुपैयाँ |
व्यक्तिगत रजत | ६ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
व्यक्तिगत कास्य | ३ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
२ भन्दा बढी व्यक्तिगत स्वर्ण | प्रत्येक स्वर्णको ११ लाख रुपैयाँ | व्यवस्था नभएको |
टिम स्वर्ण - जनही | ६ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
टिम रजत - जनही | ४ लाख रुपैयाँ | १ लाख ७५ हजार रुपैयाँ |
टिम कास्य - जनही | ३ लाख रुपैयाँ | १ लाख रुपैयाँ |
स्वर्ण दिलाउने प्रशिक्षक | ५ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
रजत दिलाउने प्रशिक्षक | ३ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
कास्य दिलाउने प्रशिक्षक | २ लाख रुपैयाँ | १ लाख रुपैयाँ |
स्वर्ण दिलाउने सहायक प्रशिक्षक | ३ लाख रुपैयाँ | १ लाख ७५ हजार रुपैयाँ |
रजत दिलाउने सहायक प्रशिक्षक | २ लाख रुपैंयाँ | १ लाख रुपैयाँ |
कास्य दिलाउने सहायक प्रशिक्षक | १ लाख रुपैयाँ | ५० हजार रुपैयाँ |
स्वर्ण दिलाउने सम्बन्धित संघ | ५ लाख रुपैयाँ | ५ लाख रुपैयाँ |
रजत दिलाउने सम्बन्धित संघ | ३ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
कास्य दिलाउने सम्बन्धित संघ | २ लाख रुपैयाँ | २ लाख रुपैयाँ |