युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले कोभिड–१९ को सङ्क्रमणविरुद्ध सामाजिक दूरी कायम राख्दै बाचौँ र बचाऔँ भन्ने अभियानमा सहभागी हुन युवा तथा खेलाडीलाई आह्वान गरेका छन्।
राष्ट्रिय समाचार समितिसँगको संवादमा उनले कोरोनाविरुद्ध जनचेतना बढाउने, विदेशबाट फर्किएका वा सम्भावित सङ्क्रमितका बारेमा जानकारी गराउने, उनीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरी आवश्यक सहयोग गर्नेलगायत कार्यमा युवा, खेलाडी र स्काउटलाई स्वयमसेवकका रुपमा सामाजिक दूरी कायम राख्दै सावधानीपूर्वक परिचालित हुन आग्रह गरे।
कोरोनाको महामारी सिङ्गो मानव जातिको अस्तित्वमाथिको चुनौती रहेकाले सङ्क्रमणविरुद्ध जुध्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले भने,“समाजका सचेत तप्का भएका हिसाबले युवा र खेलाडीमाथि सबैको भरोसा छ। गाउँ, टोल, वडा र समाजमा जो जहाँ छौँ, त्यहीँ सावधानीपूर्वक अप्ठ्यारामा परेकाहरुको उद्धार तथा राहत वितरणमा स्वयंसेवकीय भूमिका निर्वाह गरौँ।”
सङ्क्रमण नियन्त्रणको अभियानमा देशभरका युवा, विभिन्न राजनीतिक दलका भ्रातृ सङ्गठनमा आबद्ध युवा, खेलाडी, स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका जिल्ला जिल्लाका स्वयम्सेवकलाई आवश्यकतानुसार स्वयम्सेवकीय भूमिकामा आआफ्नो ठाउँमा परिचालनका लागि प्रदेश सरकार र स्थानीय तहलाई सरकारले आग्रह गरिसकेको उनले जानकारी दिए।
मन्त्रिपरिषद्द्धारा कोरोना सङ्क्रमणविरुद्धको अभियानमा राहत वितरणलगायत कार्यमा युवा, खेलाडी तथा स्काउटलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने जिम्मेवारीसमेत पाउनुभएका मन्त्री विश्वकर्माले युवा परिचालन, योजना निर्माण तथा कार्यान्वयन र आवश्यक समन्वयका लागि स्वयंसेवक व्यवस्थापन तथा परिचालन समिति गठन गरेर काम अघि बढाएको जानकारी दिए।
कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार, क्वारेन्टाइन निर्माण तथा राहत वितरणलगायत अभियानमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर स्वयंसेवकको परिचालनका लागि युवा परिचालनको जिम्मेवारी राष्ट्रिय युवा परिषद्, खेलाडी परिचालनका लागि राष्ट्रिय खेलकूद परिषद् र स्काउट परिचालनको जिम्मेवारी नेपाल स्काउटलाई दिइएको बताइएको छ।
कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण विभिन्न खेल प्रतियोगिता स्थगन हुनाका साथै खेल पूर्वाधार निर्माण तथा आगामी वर्ष गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदको तयारीका काम प्रभावित भएको खेलकूद मन्त्रीको भनाइ छ।
खेल क्षेत्रमा तत्काल राहतको आवश्यकता नरहे पनि महामारीको अवस्था हेरेर त्यसपछि दीर्घकालीन रुपबाट खेल क्षेत्रमा परेको नकारात्मक असरबाट जोगाउन र विकास र विस्तारको गतिलाई तीव्रता दिन राहत कार्यक्रम बनाएर अघि बढ्ने उहाँले बताए।
मन्त्री विश्वकर्माले भने, “खेलकूदमा कोरोना प्रभाव नदेखिए पनि दीर्घकालिन रुपमा भने यसले खेल क्षेत्रलाई प्रभाव पार्ने निश्चित छ । खेल क्षेत्रमा पर्ने नकारात्मक असरबाट जोगाउँदै विकास र विस्तारको स्वाभाविक गतिमा ल्याउन भोलिका दिनमा राहतका कार्यक्रम केन्द्रित गरेर जानुको विकल्प छैन।”