गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघले पेश्की फर्छ्यौट गरेपछि मात्र पुरस्कार पाउने भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता मानबहादुर विकेका अनुसार पुरस्कार पाउनले नै बेरुजु वा अन्य बाँकी रहेको-नरहेको भन्ने स्व:घोषणा गर्ने बाध्यात्मक व्यवस्था छ।
'पुरस्कार पाउनेले सरकारलाई तिर्न, बुझाउन कुनै बेरुजु वा अन्य रकम बाँकी रहेको नगरेको भन्ने स्व:घोषाणा गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले राष्ट्रिय खेलकुद परिषद्मा पेश्की फर्छ्यौट गर्न बाँकी तथा बेरुजु नभएको भनी परिषद्ले सिफारिस गर्न पत्राचार गरिएको छ,' विकेको भनाइ छ।
अब सबै खेलाडीको पेश्की फर्छ्यौटको प्रक्रिया सकिएपछि पुरस्कार उपलब्ध गराइने उनको भनाइ छ।
यसअघि मंगलबार पुरस्कारका लागि गठित खेलकुद पुरस्कार तथा सम्मान समितिको बैठक बसेको थियो। बैठकमा पेश्की फर्छ्यौट भएपछि पुरस्कार दिने विषयमा छलफल भएको थियो।
पुरस्कार सम्बन्धितको बैंक खातामार्फत उपलब्ध गराइनेछ। त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले सबैको खाता अद्यावधिक गरिसकेको मन्त्रालयले जनाएको छ।
नियमावली अनुसारको पुरस्कार रकम अर्थ मन्त्रालयले खेलकुद मन्त्रालयलाई निकासा गरिरहेको छ।
यसअघि गत फागुनको साता मन्त्रिपरिषद्ले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधनलाई स्वीकृत गरेपछि खेलाडीका लागि पुरस्कार दिने बाटो खुलेको थियो।
कार्यविधिमा सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने व्यवस्था। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने गरी कार्यविधिमा संशोधन गरिएको छ।
नयाँ कार्यविधिमा टिममा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने उल्लेख छ।
मंसिर तेस्रो साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।
खेलाडी, प्रशिक्षक र संघले कति-कति पुरस्कार पाउँछन्?
| अहिले पाउने पुरस्कार | पहिलाको पुरस्कार |
व्यक्तिगत स्वर्ण | ९ लाख रुपैयाँ | ५ लाख रुपैयाँ |
व्यक्तिगत रजत | ६ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
व्यक्तिगत कास्य | ३ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
२ भन्दा बढी व्यक्तिगत स्वर्ण | प्रत्येक स्वर्णको ११ लाख रुपैयाँ | व्यवस्था नभएको |
टिम स्वर्ण - जनही | ६ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
टिम रजत - जनही | ४ लाख रुपैयाँ | १ लाख ७५ हजार रुपैयाँ |
टिम कास्य - जनही | ३ लाख रुपैयाँ | १ लाख रुपैयाँ |
स्वर्ण दिलाउने प्रशिक्षक | ५ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
रजत दिलाउने प्रशिक्षक | ३ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
कास्य दिलाउने प्रशिक्षक | २ लाख रुपैयाँ | १ लाख रुपैयाँ |
स्वर्ण दिलाउने सहायक प्रशिक्षक | ३ लाख रुपैयाँ | १ लाख ७५ हजार रुपैयाँ |
रजत दिलाउने सहायक प्रशिक्षक | २ लाख रुपैंयाँ | १ लाख रुपैयाँ |
कास्य दिलाउने सहायक प्रशिक्षक | १ लाख रुपैयाँ | ५० हजार रुपैयाँ |
स्वर्ण दिलाउने सम्बन्धित संघ | ५ लाख रुपैयाँ | ५ लाख रुपैयाँ |
रजत दिलाउने सम्बन्धित संघ | ३ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
कास्य दिलाउने सम्बन्धित संघ | २ लाख रुपैयाँ | २ लाख रुपैयाँ |