राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी वर्ष फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी सुरु गरेको बताएका छन्।
खेलकूद पत्रकार मञ्च गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रतियोगिताको मिति नसर्ने र पूर्वाधार निर्माण तथा खेलकूदको तयारीका काम अघि बढाइएको उल्लेख गरे।
राष्ट्रिय खेलकूदका लागि रु ७५ करोडदेखि रु एक अर्बको हाराहारीमा बजेट आवश्यक पर्ने भएकाले सरकारसँग माग गरिएको उनको भनाइ छ।
स्विमिङ’ र ‘सुटिङ’ बाहेकका अन्य खेलका सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेका बताउँदै पोखरा रङ्गशालाभित्र निर्माण गरिने यी दुई खेल पूर्वाधार निर्माण प्रक्रियासमेत शुरु भएको सदस्यसचिव सिलवालले जानकारी दिए। सुटिङको पूर्वाधारका लागि बोलपत्र आह्वान गरिसकिएको र स्विमिङका लागि डिजाइन तयार भइरहेको बताउँदै उनले विदेशी पनि सहभागी हुने गरी २५ बाई २५ को ‘हिटिङ स्विमिङ’ पोखरी निर्माणको योजना रहेको स्पष्ट पारे।
सदस्यसचिव सिलवालले निर्माणाधीन पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता आगामी तीन महिनाभित्रमा २० हजार पुर्याउने गरी काम भइरहेको उल्लेख गरे।
गत वर्ष रु एक अर्ब २८ करोड लागतमा १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने गरी काम भइरहे पनि यहाँका खेलकर्मीको मागअनुसार क्षमता वृद्धि गर्न लागिएको र लागतसमेत रु २० करोड वृद्धि हुने जानकारी उनले दिए।
फुटबल रङ्गशालामा ‘स्कोर बोर्ड’ र ‘फ्लड लाइट’को व्यवस्था गर्न आगामी वर्षको बजेटमा योजना समावेश गरेर पेश गरिएको उनको भनाइ छ। पछिल्लो समय नेपाली खेलकूदमा पूर्वाधार, लगानी सबै हिसाबले परिर्वतन भइरहेको सिलवालले स्पष्ट पारे।