विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमण खतराका कारण जापानमा चार महिनापछि हुने विश्व खेलकुदको कुम्भमेला ओलम्पिक संकटमा परेको छ।
अहिलेसम्म ७० भन्दा बढी देशमा कोरोनाको संकमण फैलिसकेको छ। जसका कारण ओलम्पिक छनोटका खेलहरु प्रभावित भएका छन्।
आगामी १२ मार्चमा ग्रिसबाट टोकियो ओलम्पिक २०२० को टर्च र्याली सुरु हुँदैछ। २४ जुलाईमा टोकियोमा ओलम्पिक सुरु हुनुअघि टर्च विश्वका विभिन्न देशमा पुर्याइनेछ।
कोरोनाका कारण ओलम्पिक आयोजकमाथि चुनौता थपिएको बेला जापानका ओलम्पिक मन्त्री सिको हासिमोटोले ओलम्पिक सर्न सक्ने बताएका छन्। उनले ओलम्पिक वर्षको अन्त्यसम्मका लागि सर्न सक्ने संसदमा जवाफ दिएका छन्।
गत मार्च ३ मा स्विट्जरल्यान्डमा बसेको बैठकपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रवक्ता मार्क एडम्सले ओलम्पिक अहिलेसम्म तोकिएको समयमा सुरु हुने बताएका थिए।
यस्तै कमिटीका अध्यक्ष थोमस बीचले पनि २४ जुलाईमै ओलम्पिक सुरु हुनेमा जोड थिएका छन्।
तर जुन गतिमा कोरोनाको संक्रमण विश्वभर फैलिरहेको छ त्यसले ओलम्पिक तोकिएकै अवस्थामा हुने आकंशा जन्मिएको छ।
ओलम्पिक छनोटमा असर
बक्सिङको एसिया/ओशियना ओलम्पिक छनोट ३ देखि १४ फेब्रुअरीसम्म चीनको वुहानमा हुने तय थियो। तर कोरोना कारण यो छनोट जोर्डनको राजधानी अम्मानमा सारियो। ११ मार्चसम्म चल्ने यो प्रतियोगितामा नेपालका दुई खेलाडीले भाग लिए पनि पराजित हुन पुगे।
ब्याडमिन्टनको ओलम्पिक छनोटको रुपमा रहेको जर्मन ओपन, पोलिस ओपन र पोर्चुगिज अन्तर्राष्ट्रिय च्याम्पियनसिप पनि रद्द गरिएको छ। यी सबै प्रतियोगिता मार्च महिनाका लागि तय थियो। रद्द भएसँगै यी प्रतियोगिता ओलम्पिक छनोटको सूचीबाट हाटेका छन्।
भियतनाममा २४ देखि २९ मार्चसम्म हुने भनिएको ब्याडमिन्टनको ओलम्पिक छनोट पनि स्थगित गरिएको छ।
सुटिङको छनोटलाई पनि कोरोना भाइरसले असर गरेको छ। ४ देखि १३ मार्चसम्म साइप्रसमा हुने भनिएको सुटिङ विश्वकपमा विभिन्न देशले आफ्ना खेलाडी पठाएको छैन।
२७-२९ मार्चसम्म चीनको शिआन शहरमा हुने एसियन ओलम्पिक कुस्ती छनोट पनि रद्द गरिएको छ। चीनमा रद्द भएको प्रतियोगिता किर्गिस्तानमा गर्न अनुमति दिइएको थियो। तर किर्गिस्तानले प्रतियोगिता आयोजना गर्न अस्विकार गरिदिएको छ। अब यो प्रतियोगिता कहाँ हुन्छ भन्ने प्रश्न उठेको छ।
यसअघि महिला विश्वकप छनोटअन्तर्गत चीनमा हुने खेल अन्यत्र सारिएको थियो।
छनोट धमाधन स्थगित भइरहदा खेलाडी ओलम्पिकका लागि कसरी छनोट हुन्छन्? यसको उत्तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले अहिलेसम्म दिएको छैन।
चीनका खेलाडीलाई बढी असर
ओलम्पिकमा चीनका खेलाडीले अब्बल प्रदर्शन गर्दै आएका छन्। अमेरिकासँग टक्कर गर्ने चीनका खेलाडीको प्रदर्शन कोरोनाका कारण असर गर्नेमा चिनियाँ अधिकारी सजक छन्। कतिपय स्थानमा चीनका खेलाडीले छनोटमा भाग लिन समेत पाएका छैनन्।
गत १८ देखि २३ फेब्रुअरीमा भारतमा भएको एसियन कुस्ती च्याम्पियनसिपमा ४० चिनिया खेलाडीलाई भारतले भिसा दिन अस्विकार गरेको थियो। सबै खेलाडीमा कोरोना भाइसरको टेस्ट नेगेटिभ भेटिए पनि भारतले भिसा दिएन।
यसअघि खेल रद्द भएको थियो?
२००३ मा सार्स भाइरसका कारण महिला विश्वकप फुटबल प्रतियोगिता चीनबाट अमेरिकामा सारिएको थियो। यस्तै ब्रिटेनले ब्याडमिन्टन विश्व च्याम्पियनसिप रद्द गरेको थियो।
१९१६ मा पहिलो विश्वयुद्धका कारण ओलम्पिक रद्द भएको थियो। यस्तै १९४० र १९४४ मा दोस्रो विश्वयुद्धका कारण ओलम्पिक हुन सकेन।