काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा हिरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिता सुरू भएको छ। महिला दिवसको सेरोफेरोमा शुक्रबारदेखि विशालबजारको सास ब्यांक्वेटमा प्रतियोगिता आयोजना भएको हो।
३७ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका छन्। कुल ७० हजार नगद पुरस्कार राखिएको प्रतियोगितामा प्रथम हुनेले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले ८ हजार रुपैयाँ पाउनेछन्। त्यसका साथै विभिन्न उमेर समूह तथा रेटिङ विधामा ११ जना खेलाडीले पुरस्कार पाउनेछन्।
प्रतियोगितामा स्कुल अध्ययनरत विद्यार्थीदेखि राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाएका छन्। सात चरणसम्म हुने प्रतियोगिता आइतबारसम्म चल्नेछ। शुक्रबार एक खेल भयो भने शनिबार र आइतबार तीन-तीन खेल हुनेछ।
काठमाडौं जिल्ला बुद्धिचाल संघका निवर्तमान अध्यक्ष अमृतचन्द्र श्रेष्ठका आमा स्व. हेरामाया श्रेष्ठ स्मृतिमा प्रतियोगिता आयोजना भएको हो। प्रतियोगितामार्फत् महिला खेलाडीलाई प्रोत्साहन पुर्याउन खोजिएको आयोजकले जनाएको छ।
हरेक वर्ष महिला दिवसका दिन सम्पन्न हुनेगरी प्रतियोगिता हुनेछ।