रेलिगेशनमा संघर्ष गरिरहेको सरस्वती युथ क्लबमाथि ६–१ गोलको जित निकाल्दै मच्छिन्द्र क्लब जारी सहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको सरस्वतीमाथि मच्छिन्द्रले गोल वर्षा गरेको हो।
खेलको पहिलो हाफको ३९ औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफको ५४ औं मिनेटमा दिपक राईले गोल गर्दै अग्रता दोब्बर बनाए।
५९ औं मिनेटमा विशाल राई ‘ए’ले तेस्रो गोल गर्दा ७७ औं मिनेटमा दिपक राईले अर्को गोल थपे। इन्जुरी समयमा मच्छिन्द्रका लागि सोमिडे अडिलेजा र आन्द्रेस नियाले थप एक–एक गोल गरे।
सरस्वतीले ८७ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै सान्तवना गोल गर्यो। जितसँगै ११ खेलबाट २५ अंक जोडेको मच्छिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको आर्मी २३ अंकसहित दोस्रो स्थानमा छ।