ब्याडटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
पहिलो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्ड कार्यक्रममा उनीहरुलाई बर्षका उत्कृष्ट खेलाडी घोषणा गरिएको हो। खेलकुद पत्रका मञ्च कैलालीले आयोजना गरेको अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका खड्ग बोहोरा र भारात्तोलनका सागर भण्डारी पनि मनोनयनमा परेकोमा ब्याडमिन्टनका दाहाल उत्कृट घोषित भएका हुन्।
उनले दुबई जुनियर ईन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए भने उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाड बनेका थिए। प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा पनि दाहालले स्वर्ण पदक जितेका थिए।
साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक जितेका उनले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक जितेका थिए। जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य जितेका दाहाल आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू–१७ मा स्वर्ण जित्न सफल भएका थिए। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले कास्य पदक जितेका थिए।
वर्षको उत्कृष्ट महिला खेलाडी बन्न सफल कविता कुँवरले भने गत जनवरीमा थाइल्याण्डमा भएको टि–२० स्म्यासमा पाँच खेलमा २ विकेट लिन सफल भएकी थिईन्। उनी नेपालका लागि ११ ट्वान्टी–२० अन्तराष्ट्रिय खेलममा ९ विकेट लिन सफल भएकी छिन्। प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशलाई फाइनल पुर्याउने क्रममा उनको उत्कृष्ट प्रदर्शन रहेको थियो। उनी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश स्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई च्याम्पीयन बनाउने क्रममा ‘प्लेयर अफ दी सिरिज’ नै बनेकी थिईन्।
वर्षको उत्कृष्ट युवा खेलाडी भने भारात्तोलनका सागर भण्डारी भएका छन्। सुदुरपश्चिम प्रदेशलाई भारात्तोलनमा २२ बर्षपछि स्वर्ण पदक जिताउने खेलाडी रहेका उनी बर्षको उत्कृष्ट युवा खेलाडीबाट पुरस्कृत भएका हुन्। उनले गत वर्ष खेलेको खेलमा आफ्नै प्रशिक्षक जीवन गौतमले दिलाएको स्वर्ण पदकको खडेरी तोड्न सफल भएका थिए। उनले सुनिललाल मेमोरियल कपमा भारात्तोलन प्रतियोगितामा स्वर्णमाथि कब्जा गरेका थिए। जुनियर तौल समुहमा एसियन गेममा समेत उनी सहभागी भएक थिए। बर्षको उत्कृष्ट प्रशिक्षक भने भारात्तोलनका जीवन गौतम भएका छन्। कोरियामा भएको एसियन सिनियर कप भारात्तोलन प्रतियोगितामा प्रशिक्षक भएर नेपाललाई एक रजत र दुई कास्य पदक जिताउन सफल गौतमलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो।
यस्तै स्पेशल अवार्ड भने कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक सिंहलाई प्रदान गरिएको छ। आफ्नो तीन बर्षे कार्यकालमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो। कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा २०७२ असोज १४ गते नियुक्ती भएर २०७६ असोज १४ गते कार्यकाल सम्पन्न गरेका दिपकवहादुर सिंहले आफ्नो कार्यकालमा देशभरीमै कैलाली जिल्ला खेलकुदलाई उत्कृष्ट तेस्रो बनाए।
उनले आफ्नो कार्यकालमा धेरै काम गरे। फाप्ला मैदान निर्माणको बजेट विनियोजनदेखि लिएर ४२ वटा विद्यालयमा खेल मैदान, वास्केटबल कोर्ट, वहुउद्देश्यीय कभर्डहल, सवै निर्वाचन क्षेत्रमा एक एक खेल मैदान, टीकापुरमा सुटिंग रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलवारी र खेलकुद विकास समितीमा क्रिकेट पिच निर्माण भएको छ।
खेलकुद विकास समितीमा छुट्टै महिला पुरुष सौचालय निर्माण, पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको सुरुवात, खेलाडीलाई पोषण सम्बन्धी तालिम लगायतका कार्यक्रम गर्नुभएका सिंहकै पालामा ठुला र प्रतिष्ठित प्रतियोगिताको सुरुवात समेत भएको छ।
देशकै सर्वाधिक धनराशीको खप्तड गोल्डकप पनि उनकै पालामा सुरुवात भएको हो लाईफ टाईम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती श्याम सुन्दर शर्मालाई प्रदान गरिएको छ। उनलाई क्रिकेट र फुटवलमा लामो समइसम्म योगदान दिए बापत लाईफ लाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो।
अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफी सहित प्रदान गरिएको छ। अवार्डका संयोजक प्रदिप पाठकले चार विधाका खेलाडीलाई नगद २५ हजार र लाईफ टाईम तथा स्पेशस अवार्ड विजेतालाई १० हजार नगद सहित सम्मान गरिएको बताए।
कैलाली हस्पिटल मुख्य प्रायोजक रहेको स्पोर्टस अवार्डमा सह–प्रायोजकमा शौभाग्यश्वर फार्मेसी विशेष अटोमोबाईल्स, सिपी हस्पिटल र नवजीवन हस्पिटल रहेका थिए। त्यसैगरी अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका थिए। मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका थिए भने प्रवद्र्धकको रुपमा सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेका थिए।
त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार र भेनु पार्टनरको रुपमा ओम प्यालेस रहेका थिए।