१३ औं दक्षिण एसियाली खेलकुद सागका विजेतालाई प्रदेश ५ सरकारले सम्मान गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी विजेतालाई प्रोत्साहन स्वरूप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।
सागमा सहभागी भएका प्रदेश ५ का खेलाडीलाई ४० हजारदेखि १ लाख रुपैयाँसम्म नगदसहित सम्मान गर्ने निर्णय गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए।
मन्त्री गिरीले सागमा एकलतर्फ स्वर्णपदक विजेतालाई १ लाख रुपैयाँ, समूहमा स्वर्ण जित्नेलाई ८० हजार रुपैयाँ, रजत एकललाई ८० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए।
त्यस्तै, समूहमा रजत जित्नेलाई ६० हजार, एकल कास्य जित्नेलाई ६० हजार, समूहमा कास्य जित्नेलाई ४० हजार रुपैयाँसहित सम्मान गरिने छ।
बैठकले सामाजिक विकास मन्त्रालयले बनाएको पाठ्यक्रम तयार गर्ने कार्यविधि पनि स्वीकृत गरेको छ।
मन्त्रालयले अध्ययन गरेर प्रदेश स्तरीय पाठ्यक्रम निर्माण गर्नेछ। त्यस्तै, कृषि क्षेत्रमा कृषि स्वयंसेवक नियुक्त गर्ने निर्णय पनि गरेको छ।
यस्तै, विपद् प्रभावित क्षेत्रमा बस्ती पूर्वाधार विकास गर्ने कार्यविधि स्वीकृत गरिएको मन्त्री गिरीले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षणसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ।