राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले ७५ स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्मा १३औँ सागमा बक्सिङतर्फ पदक विजेता खेलाडीलाई तथा चीन जाने बक्सिङ खेलाडीको बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले १४औँ सागका लागि अहिलेदेखि नै तयारी थाल्न निर्देशन दिए।
उनले १३औँ सागमा लक्ष्यअनुरुप नै नेपालले पदक जितेकामा खुशी व्यक्त गरे।
'तेह्रौँ सागमा स्वर्ण जित्नेले एशियाली खेलकुदमा समेत स्वर्ण नै जित्नु पर्यो', उनले भने, 'अब त्यही अनुसार तयारी थाल्नुस्।'
प्रतियोगिता सम्पन्न भएको पाँच दिनभन्दा बढी समयसम्म प्रशिक्षणविहीन अवस्थामा बस नहुने भन्दै उनले अभ्यासमा जुट्न खेलाडी तथा प्रशिक्षकलाई निर्देशन दिए।
तेह्रौँ सागमा महिला खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको सदस्यसचिव सिलवालको भनाइ थियो ।
'१३ औं सागमा ५१ मा ३० स्वर्ण महिला खेलाडीले जिते', उनले भने, 'महिला खेलाडीलाई खेलतर्फ आकर्षित गर्न जरुरी छ।'
पदक जित्ने खेलाडीलाई सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले समेत नगदसहित सम्मान गर्न लागेको उनले उल्लेख गरे।