राष्ट्रिय खेलकुद परिषद्ले १३ औं दक्षिण एसियाली खेलकुद(साग) का पदक विजेता नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराउने भएको छ।
राखेपको प्रचार प्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतका अनुसार बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगर परिक्रमा सुरू हुनेछ।
रंगशाला-मखन-न्युरोड-शहिदगेट-थापाथली-सातदोबाटो-कोटेश्वर-सूर्यविनायक-कोटेश्वर-बानेश्वर-माइतीघर-शहिदगेट हुँदै फेरि रंगशालामा आएर नगर परिक्रमा सकिनेछ।
खेलाडीहरूसँग राखेपका सदस्यसचिव रमेश सिलवाल पनि हुनेछन्।
मंसिर २४ गते सकिएको सागमा नेपालले ५१ स्वर्णसहित २०६ पदक जितेको छ।
सरकारले सागका स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र कास्य जित्नेलाई ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ।