१३ औँ दक्षिण एसियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’ अन्तर्गतको विशिष्ट श्रेणी सहितको प्यारापिटमा सिट जडान गरिएको छ।
पूर्वतर्फको प्याराफिट भने शनिबार मात्र पोखरा आइपुगेको छ।
पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भएपछि यति बेला फुटबल मैदानको काम समेत धमाधम भइरहेको छ।
पोखरामा मुख्य खेलको रुपमा समेत हेरिएको महिला फुटबलको लागि निमार्णाधिन फुटबल मैदानमा प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिने छ।
मैदानको लागि दुबो भारतको कोलकत्ताबाट ल्याइएको हो भने प्यारापिटका लागि स्टिल मोडुलर ग्राण्ड स्ट्यान्डका सामान भने फ्रान्सबाट ल्याइएको हो। उक्त प्यारापिट जडानको लागि फ्रान्सबाट दुई जना प्राविधिक समेत पोखरा आएका छन्।
आजमात्रै ९ वटा मालबाहक ट्रकहरु भारतको बन्दरगाहबाट सामान लिएर पोखरा आइपुगेका छन्। ती सामानले पूर्व तर्फको प्यारापिट जडानको काम हुने छ।
पोखरा रंगशालामा नवनिर्मित प्यारापिटमा जडित सिटहरु रातो र निलो रंगको रहेको छ। ती सिटहरु नेपालको झण्डा संग मिल्ने गरी राखिएको हो।
मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको र करिब १० हजार दर्शक क्षमताको सिट जडान गरिने प्रोजेक्ट म्यानेजर बरालले जानकारी दिए।
सागअन्तरगत महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेल मैदान, हेम्जामा रहेको गौरीशंकर खेल मैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएका छन् ।
महिला फुटबल मंसीर १७ गते देखि २४ गते सम्म हुने छ। प्रतियोगितामा ४ राष्ट्रको सहभागीता रहेको छ। आयोजक नेपाल सहित भारत, माल्दिभ्स् र श्रीलंकाले खेलमा सहभागीता जनाएका छन् भने बंगलादेश, भुटान र पाकिस्तानले भने सहभागीता जनाएको छैन।
यसै गरि ट्रयाक एण्ड फिल्डको लागि अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघका प्राविधिक टोलीहरु आइतबार पोखरा आइपुग्ने प्रोजेक्ट म्यानेजर बरालले बताए। उनले भने ‘ट्रयाक मार्किङ गर्न टोली आउँदैछ ४ दिनमा हामी ट्रयाक मार्किङको काम सक्दैछौं।’