निर्माणाधिन पूर्वाधार समयमा सम्पन्न गर्ने प्रतिबद्धतापछि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने भएको छ।
नेपाल ओलम्पिक कमिटी एवं दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले साग निर्धारित समयमै गर्ने निर्णय गरेको हो। बैठकमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र भाल्दिभ्सका प्रतिनिधि सहभागी थिए।
साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुने तय छ।
साग आउन २१ दिन बाँकी रहदा नेपालले पूर्वाधारमा सन्तोषजनक तयारी गर्न सकिरहेको छैन। उद्घाटन र समापनसहित हुने दशरथ रंगशाला अझै तयार भइसकेको छैन। महिला फुटबल हुने तय पोखरा रंगशालाको गति पनि उस्तै छ। सातदोबाटोमा बन्दै गरेको हिटिङ सिस्टमसहितको पौडी पोखरीले बल्ल आकार लिन थालेको अवस्था छ।
पूर्वाधार समयमै सम्पन्न नहुँदा साग हुनेमै शंका व्यक्त गर्न थालिएको थियो।
यी पूर्वाधारको विषयमा शनिबार भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठममा नेपालबाहेकका ६ राष्ट्रले प्रश्न उठाएका थिए। जसमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिवलालले साग अघि नै पूर्वाधार निर्माण सकिने प्रतिबद्धता जनाएका थिए। दुवै जनाले कात्तिकको अन्त्यमा पूर्वाधार निर्माण सकिने प्रतिबद्धता जनाएका थिए।
बैठकले २ वर्षपछि हुने १४औं साग आयोजना गर्न पाकिस्तानले गरेको प्रस्ताव स्विकृत समेत गरेको छ।
सागमा २७ खेलमा प्रतिस्पर्धा हुने तय भए पनि प्याराग्लाइिङमा सहभागी देश संख्या नपुग्ने देखिएको छ।
नेपालले २७ खेलमै भाग लिन नाम दर्ता गराएको छ। श्रीलंका र बंगलादेशले समान २५ खेलमा भाग लिने पक्का भइसकेको छ। पाकिस्तानले १८, भारतले १७, भुटानले १४ र माल्दिभ्सले ११ खेलमा मात्र सहभागिता जनाउनेछन्।
कुन खेल कहाँ हुँदैछ?
आर्चरी – मंसिर १९ देखि २३ सम्म – पोखरा रंगशालास्थित आर्चरी ट्रेनिङ सेन्टर
एथ्लेटिक्स – मंसिर १७ देखि २१ सम्म – दशरथ रंगशाला
ब्याडमिन्टन – मंसिर १५ गतेदेखि २० सम्म – पोखरा काबर्ड हल
बास्केटबल – मंसिर १८७ देखि २१ सम्म – राखेपको कबर्ड हल
बक्सिङ - मंसिर २० देखि २४ सम्म – सातदोबाटो कराते हल
साइक्लिङ – मंसिर १७ देखि २१ सम्म – सहिद पार्क, जगडोल
क्रिकेट – पुरुष (कीर्तिपुर– मंसिर १७–२४), महिला (पोखरा १७ देखि २३)
फेन्सिङ –मंसिर १७ देखि २१ सम्म– कीर्तिपुर
फुटबल – पुरुष (दशथ रंगशाला १५ देखि २४), महिला (पोखरा रंगशाला १७ देखि २३)
गल्फ – मंसिर १६ देखि २० सम्म– गोकर्ण गल्फ क्लब
ह्यान्डबल – मंसिर १८ देखि २३ सम्म – पोखरा रंगशाला कबर्ड हल
जुडो – मंसिर २१ देखि २४ सम्म – आर्मी स्पोर्ट्स कम्प्लेक्स, लगनखेल
कबड्डी – मंसिर १८ देखि २३ सम्म– कीर्तिपुर
कराते– मंसिर १५ देखि १८ सम्म– सातदोबाटो कराते हल
खोखो – मंसिर १५ देखि १८ सम्म– कीर्तिपुर
प्याराग्लाइडिङ – मंसिर १४ देखि २२ सम्म – पोखरा
सुटिङ – मंसिर १७ देखि २२ सम्म – सातदोबाटो
स्क्वास –मंसिर २० देखि २४ सम्म– सातदोबाटो
पौडी – मंसिर १९ देखि २३ सम्म– सातदोबाटो
टेवल टेनिस –मंसिर १७ देखि २१ सम्म– लैनचौर
टेनिस –मंसिर १६ देखि २० सम्म– सातदोबाटो
तेक्वान्दो –मंसिर १६ देखि १९ सम्म– सातदोबाटो तेक्वान्दो हल
ट्रायथलन – मंसिर १६ देखि १८ सम्म– पोखरा
भलिबल – मंसिर ११ देखि १७ सम्म– राखेप कबर्ड हल
भारोत्तोलन – मंसिर १६ देखि २१ सम्म– पोखरा
कुस्ती – मंसिर २० देखि २३ सम्म– जनकपुर
उसु – मंसिर १९ देखि २३ सम्म– आर्मी स्पोर्ट्स कम्प्लेक्स, लगनखेल
बिच भलिबल – मंसिर १९ देखि २२ सम्म – पोखरा